
काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले आगामी असारसम्म ५० ओटा चार्जिङ स्टेसन निर्माण सम्पन्न गर्ने भएको छ । दुई वर्षअघि निर्माण सुरु भएको चार्जिङ स्टेसनको काम सम्झौता मितिभन्दा एक महिना ढिला सम्पन्न हुँदै छ।
प्रमुख राजमार्गका ३२ स्थानमा ती चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गरेको हो ।
प्राधिकरणका परियोजना प्रमुख सागर ज्ञवालीले चार्जिङ मेसिन चीनबाट नेपालतर्फ पठाइसकिएको जानकारी दिँदै भने, “भौतिक निर्माणकार्य सकिएको छ। अब मेसिन जडानलगायतका काम गर्दैछौँ । चीनबाट मेसिन आउने क्रममा छ। आगामी असार सम्म सबै काम सम्पन्न गर्नेछौँ ।”
हाल स्टेसनमा विद्युत् लाइन पुर्याउने काम भइरहेको छ। स्टेसन पूर्व–पश्चिम, पृथ्वी, सिद्धार्थ, बीपी, मदन भण्डारीलगायतका राजमार्गमा राखिने छ । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा राखिएको छ। स्टेसनमा कार आधा घण्टा र बस एक घण्टामा पूर्ण चार्ज हुने छ ।
चार्जिङ स्टेसनमा दुई सय किलो वाटको ट्रान्सफर्मर राखिने छ। एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो।
एउटा चार्जिङ स्टेसन निर्माणमा करिब ८० लाख रुपियाँ खर्च हुनेछ । हरेक प्रदेशमा पाँचवटा स्टेसन रहने छ। त्यस्तै, उपत्यकामा १० र बाँकी पाँचवटा अन्य आवश्यक स्थानमा हुने छन् । चार्ज गर्ने समय र स्थान मोबाइल एप्सबाट बुक गर्नुका साथै अनलाइन भुक्तानी गर्न सकिने छ।
५० ओटै स्टेसनको नियन्त्रण काठमाडौँबाट हुने बताईएको छ।
यसै बीच, विद्युतीय बस सञ्चालन गरि रहेको सुन्दर यातायात प्रालिले काठमाडौँ र लुम्बिनी प्रदेशमा २९ वटा सार्वजनिक बस सञ्चालन गरेको छ । थप सय विद्युतीय बस ल्याउने तयारी गरिएको छ। सो कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार एक वर्षमा पाँच सय बस ल्याउन लागिएको छ।
साझा यातायातका पनि तीनवटा विद्युतीय बस वीरगञ्ज भन्सारमा आइपुगेका छन्। काठमाडौँमा ती बसको परीक्षण गरिएपछि बाँकी ४० ओटा विद्युतीय बस ल्याइने साझाले जनाएको छ। साझाका सञ्चालक समिति सदस्य भूषण तुलाधरले बाँकी बस करिब चार महिनाभित्रै ल्याइने जानकारी दिए। गोरखापत्रबाट
प्रकाशित: ११ बैशाख २०७९, आईतवार