
काठमाडौं ।
भारतमा पछिल्लो समय विद्युतीय सवारी साधनमा आगलागीका घटनाहरु अहिले घातक सावित भइरहेका छन्। हालै नयाँ आगलागीको घटना तेलंगानाको निजामाबाद जिल्लामा घटेको छ।
सो स्थानको एक घरभित्र राखिएको विद्युतीय स्कुटरको ब्याट्री पड्किँदा एक ८० वर्षीय वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएको भारतीय मिडियाहरुले जनाएका छन् । बुधबार राति ब्याट्री चार्ज गर्ने क्रममा उक्त घटना भएको बताइएको छ।
समाचार रिपोर्टकाअनुसार रामास्वामी नाम गरेका व्यक्तिको जलेर मृत्यु भएको छ। बाबुलाई बचाउन खोज्दा प्रकाश, प्रकाशकी श्रीमती कृष्णवेणी र वृद्धकी श्रीमती कमलम्मा घाइते भएका छन्। प्रकाशले एक वर्षदेखि ईभी स्कुटर प्रयोग गर्दै आएको बताइएको छ।
ब्याट्री विस्फोट भएको स्कुटर “प्योर ईभी (PURE EV)” कम्पनीको रहेको बताइएको छ। प्रहरीले प्योर ईभी विरुद्ध लापरवाहीका कारण मृत्युको मुद्दा दर्ता गरेको छ। रिपोर्टका अनुसार प्योर ईभीले एक विज्ञप्ति जारी गरी घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।
कम्पनीले आफ्नो डाटाबेसमा प्रयोगकर्ताको सवारी साधनको सेवा वा बिक्रीको कुनै अभिलेख नरहेको बताएको छ। कम्पनीले यो विद्युतीय स्कुटर सेकेन्डह्यान्ड सेलमार्फत खरिद गरेको हो कि भनेर अनुसन्धान गरिरहेको उल्लेख छ।
एकातिर भारतीय सरकारले विद्युतीय सवारी साधनलाई प्रबर्द्धन गर्ने प्रयास गरिरहेको छ भने त्यसमा आगलागीका घटनाले सुरक्षामा चिन्ता बढाएको छ। विगत दुई महिनामा, प्योर ईभीदेखि ओला इलेक्ट्रिक र ओकिनावाका ई-स्कुटरसम्मका विद्युतीय स्कुटरहरूमा आगलागीका धेरै घटनाहरू भएका छन्।
यसैबीच, केन्द्रीय यातायात मन्त्री नितिन गडकरीले विज्ञ समितिले विद्युतीय सवारी साधनहरुको दुर्घटनाको छानबिन गर्ने बताएका छन्।
केहि समयअघि भारतको तेलंगानामा नै प्योर ईभी इलेक्ट्रिक स्कुटरमा आगलागी भएको घटना बाहिर आएको थियो।
प्रकाशित: १० बैशाख २०७९, शनिबार