
काठमाडौं ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सम्बन्धमा आम नागरिकबाट आउने जिज्ञासा र गुनासो सम्बोधनका लागि शुरु गरेको कल सेन्टरमा नागरिकको जिज्ञासा आउनेक्रम वृद्धि भएको छ। जिज्ञासाको सहज समाधान हुने भएपछि नागरिकबाट आयोगको कल सेन्टरमा जिज्ञासा आउनेक्रममा वृद्धि भएको हो ।
कल सेन्टर सुपरभाइजर मधुसुदन पुडासैनीकाअनुसार अहिलेसम्म ३ हजार ३२३ जिज्ञासा आएका छन्, जसमध्ये अधिकांश जिज्ञासाको सम्बोधन भएको आयोगले जनाएको छ। उनकाअनुसार चैत १५ गतेदेखि शुरु भएको कल सेन्टरको शुरुवाती दिनमा जिज्ञासा आउनेक्रम बढी भएपनि बीचमा कम भएको थियो । तर पछिल्लो समय पुनः कल सेन्टरमा नागरिकको जिज्ञासाको रफ्तार बढेको उनले बताए।
कल सेन्टरबाट आएको जानकारीअनुसार गत चैत १५ गते ३१२ जिज्ञासा आएका थिए। अहिलेसम्मको सबैभन्दा बढी जिज्ञासा आएको दिन पनि त्यही भएको पुडासैनीको भनाई छ। त्यस्तै बढी जिज्ञासा चैत १६ गते ३०५, चैत १७ गते २५२ वैशाख ८ गते २१६ जिज्ञासा आएका छन् । सोहीअनुसार पछिल्लो समय वैशाख ७ गते १३४, वैशाख ६ गते ११६, वैशाख ५ गते १०६, वैशाख ४ गते ८५, वैशाख ३ गते ६५, वैशाख २ गते ८८ र वैशाख १ गते ५३ जिज्ञासा आएका थिए।
कल सेन्टरमा आएको नागरिकको जिज्ञासा सकेसम्म तत्काल सम्बोधन गर्ने गरिएको र केही जिज्ञासा क्रमशः सम्बोधन गर्नेगरिएको पुडासैनीले बताए। कल सेन्टरमा आउने जिज्ञासा र त्यसको सम्बोधनले निर्वाचनबारे विभिन्न जानकारी सहजरुपमा प्राप्त गर्ने गरेको नागरिकको भनाई रहेको उनले जानकारी दिए ।
कल सेन्टरमा आउने जिज्ञासामा निर्वाचन प्रचार प्रसारमा गाडीमा साउण्ड सिष्टम प्रयोग गर्न पाइन्छ कि पाइँदैन ? वाल पोष्टर टाँस्न पाईने नपाईने ?, निर्वाचनमा उम्मेदवारको चुनाव चिन्ह खुलाएर वाल पोष्टर कति साईजसम्मको टाँस गर्न पाउने ? संविधानमा मेयर–अध्यक्ष र उपमेयर–उपाध्यक्षको राजीनामा मात्रै उल्लेख भएको देखियो। वडा सदस्यको हकमा निजले को समक्ष राजीनामा दिने ? लगायतका जिज्ञासा आउने गरेका छन्।
सोहीअनुसार अध्यक्ष र उपाध्यक्ष दुवैले राजीनामा दिँदा कसलाई सम्बोधन गरेर कहाँ राजीनामा बुझाउने ?, वडाध्यक्ष र वडा सदस्यले कसलाई राजीनामा बुझाउने ? उम्मेदवारले चुनाव चिन्ह कहिले पाउँछ ? उम्मेदवारले मनोनयन फिर्ता गर्दा दलको पत्र आवश्यक पर्छ कि पर्दैन ? स्थानीय तहमा कर्मचारी खटाउँदा सम्बन्धित स्थानीय तहमा कार्यरत कर्मचारीमध्येबाट राख्नुपर्नेमा बाहिरबाट ल्याएको पाईयो। यसमा कार्यविधिको व्यवस्था के हो ?, मेयर र उपमेयर पदमा दुवै पुरुष उठाउन मिल्छ कि मिल्दैन ? कतिसम्म भोट ल्याउनेको धरौटी जफत हुन्छ ? लगायतका जिज्ञासा आउने गरेको कल सेन्टरका प्रतिनिधिहरुले बताए।
त्यस्तै, एक जनालाई मात्र मतदान गर्दा मत बदर हुन्छ कि हुँदैन ? वैशाख १७ गते हुने नासुको परीक्षा रोकिन्छ कि रोकिन्न ? उम्मेदवार बन्न के के योग्यता आवश्यक पर्छ ? लागुऔषधको कारोबारमा सजाय भुक्तान भैसकेको व्यक्तिले उम्मेदवार हुन पाउने कि नपाउने ? मतदाता परिचयपत्रको आधारको रुपमा रहने नागरिकता वा राष्ट्रिय परिचयपत्र भएको मतदाताले यसैको आधारमा मत हाल्न पाईने हो कि होईन ? कुनै पनि उम्मेदवार र पार्टी मन नपरेको अवस्थामा मतदाताले कसरी मतदान गर्ने ? लगायतका जिज्ञासा आउने गरेको पुडासैनीले जानकारी दिए।
निर्वाचन आयोगमा ११०२ मा निःशुल्क कल गर्ने व्यवस्था गरिएको छ। गोरखापत्रअनलाइनबाट
प्रकाशित: १० बैशाख २०७९, शनिबार