
काठमाडौं ।
मोबाइल सेवाको गुणस्तरमा सुधार हुनेगरी नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सिग्नलको न्यूनतम मापदण्ड तोकेको छ।
नियमनकारी निकाय प्राधिकरणले नेपालभित्र संचालनमा रहेका मोबाइल सेवा प्रदायकहरुको लागि न्यूनतम मोबाइल सिग्नलको मापदण्ड तोकेको हो।
प्राधिकरणको चैत ११ गते शुक्रबार बसेको बोर्ड बैठकले मोवाइल दूरसञ्चार सेवामा न्यूनतम कभरेजको लागि आवश्यक मिनिमम रिसिभ्ड पावरको सिग्नल लेभल मापदण्ड निर्धारण गरेको हो।
सो मापदण्डअनुसार आगामी दिनमा सबै मोबाइल क्यारियरहरुले आफ्ना मोबाइल टावरको सिग्नलको व्यवस्थापन गर्नुपर्ने प्राधिकरणका निर्देशक अम्बर स्थापितले जानकारी दिए। उनकाअनुसार सेवा प्रदायकले मोबाइलको लागि बीटीएस टावरबाट प्रयोगकर्ताको मोबाइल सेटसम्म पठाउने सिग्नलको तोकिएको मापदण्ड पालना गर्नुपर्ने छ।
“हालसम्म कुनैपनि न्यूनतम मापदण्ड थिएन्। हामीले विश्वभरको प्राक्टिसलाई ध्यानमा राखेर मोबाइलमा आउनुपर्ने सिग्नलको लेभलमा न्यूनतम मापदण्ड तोकेका हौं,” निर्देशक स्थापितले टेक्नोलोजीखबरसँग भने, “मोबाइलमा कुराकानी गर्न कति रिसिभर सिग्नल आवश्यक पर्दछ भन्ने यसले निर्धारण गर्दछ।”
उनकाअनुसार यो मापदण्ड २जीदेखि ४जी सम्म सबैमा लागू हुनेछ भने आगामी दिनमा फाइभजीको लागि छुट्टै मापदण्डमा अध्ययन गरिनेछ।
यसअघि ठाउँठाउँमा चेक गर्दा अपग्रेड गर्नुपर्ने देखिएको र विभिन्न स्थानमा फरक फरक लेभल भएको हुँदा अब मोबाइल दूरसञ्चार सेवा प्रदायकहरुले कम्तिमा उक्त न्यूनतम मापदण्ड राख्नुपर्ने छ।
यसले हाल केहि स्थानमा देखिएको मोबाइल सेवाको गुणस्तर सुधार गर्न र सिग्नल नदेखिने समस्या समाधान समाधान गर्न सहयोग पुग्ने निर्देशक स्थापितको विश्वास छ।
प्राधिकरणकाअनुसार २जीका लागि आउडडोरमा कभरेज थ्रेसहोल्ड माइनस ८२ डिबिएम वा त्यो भन्दा उत्कृष्ट हुनुपर्नेछ भने थ्रीजीका लागि माइनस ८७ डिबिएम वा त्यो भन्दा उत्कृष्ट हुनुपर्नेछ।
त्यसैगरी फोरजी अर्थात एलटीईका लागि आउडडोरमा कभरेज थ्रेसहोल्ड माइनस ९५ डिबिएम वा त्यो भन्दा उत्कृष्ट हुनुपर्नेछ।
प्रकाशित: ७ बैशाख २०७९, बुधबार