
काठमाडौं ।
नेपाल आउने विदेशीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि प्रवेशाज्ञा (अनअराइभल भिसा) लिन विद्युतीय भुक्तानीमा समस्या देखिएपछि थप एटीएम मेसिन राख्न सुरु गरिएको छ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार राष्ट्रिय वाणिज्य बैङ्कले यात्रु आगमन कक्षमा एउटा एटीएम मेसिन र दुईवटा पीओएस मेसिन तथा प्रस्थान कक्षमा एक एटीएम मेसिन राख्न सुरु गरिएको छ। सोमबार अपराह्नसम्म आन्तरिक कक्षमा एउटा मेसिनको सेटअप तयार भएको उनले जानकारी दिए ।
नागरिक उड्डयन प्राधिकरणले एटीएम मेसिन राख्ने स्थान उपलब्ध गराएपछि मेसिन राख्ने काम सुरु भएको र मङ्गलबारसम्म उक्त मेसिनहरू सञ्चालनमा आउने उनको भनाइ छ।
अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मात्रै एटीएम रहेको र त्यो पनि बिग्रिएकाले समस्या भएको थियो । विमानस्थलमा रहेको अध्यागमन कार्यालयले विद्युतीय भुक्तानी प्रणालीमा समस्या देखाउँदै पर्यटकलाई दुई सय डलर साथमा बोकेर आउन सूचना जारी गरेपछि पर्यटकले झन्झट भोग्दै आएका थिए । विमानस्थलमा एउटा मात्रै एटीएम मेसिन रहेको र उक्त मेसिनमा मास्टर र भिसा कार्ड प्रयोग गर्न समस्या देखिएपछि पर्यटकलाई भिसा शुल्क बुझाउन समस्या भएको थियो।
मुख्य सिजनमै पर्यटकले सास्ती भोग्नुपरेपछि गृहमन्त्री बालकृष्ण खाणले विमानस्थलमा देखिएको समस्या तत्काल समाधान गर्न सोमबार निर्देशन दिएका थिए।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्रवक्ता तथा प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौलालगायतलाई मन्त्रालयमै बोलाएर गृहमन्त्री खाणले निर्देशन दिएका हुन् । गृहमन्त्री खाणले विमानस्थलमा तत्काल थप एटीएम मेसिन राख्न निर्देशन दिएपछि अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा समिति गठन भएको थियो।
उक्त समितिले भिसा शुल्क सङ्कलन गर्ने राष्ट्रिय वाणिज्य बैङ्कलाई विमानस्थलमा थप मेसिन राख्न आग्रह गरेपछि सोमबार नै थप एटीएम र पीओएस मेसिन राख्न सुरु भएको विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले बताए। उनले भने, “विमानस्थलमा रहेका काउन्टरमा भीडभाड नहुने गरी आवश्यक व्यवस्था मिलाउन र एटीएमको समस्या समाधान गर्न गृहमन्त्रीले दिएको निर्देशनअनुसार आजैदेखि काम सुरु भइसकेको छ ।’’
विमानस्थलमा एक्स–रे मेसिन जडान गरेर उपलब्ध सेवालाई समेत थप सहज बनाउनसमेत मन्त्रीले निर्देशन दिएका छन् ।
पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या दैनिक दुई हजारभन्दा बढी नेपाल भित्रिन थालेका छन् । भ्रमण, आरोहण तथा पदयात्राका लागी नेपाल आउने यो मुख्य सिजनसमेत मानिन्छ। गोरखापत्रबाट
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार