
काठमाडौं ।
नेपालमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकममा पुन: वृद्धि भएको छ।
हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको फागुन महिनासम्मको प्रतिवेदनमा माघ मसान्तदेखि फागुन मसान्तसम्मको एक महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या ६ हजार ३४१ ले बढेको देखिएको छ।
माघ महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको जम्मा कारोबार २ लाख ६७ हजार ३५८ रहेको थियो। यो सङ्ख्या फागुन मसान्तसम्म आइपुग्दा २ लाख ७३ हजार ६९९ पुगेको छ।
कारोबार संख्या बढेपछि रकम बढ्नु स्वाभाविकै हो। अघिल्लो महिना भने इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या बढे पनि रकम भने घट्दो क्रममा गएको थियो।
माघ मसान्तसम्म इन्टरनेट बैंकिङमार्फत् १२ अर्ब ८९ करोड ९० लाख रुपैयाँको कारोबार भएकामा एक महिनाको अवधिमा ८४ करोड रुपैयाँ बढेर १३ अर्ब ७३ करोड ९० लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: ३० चैत्र २०७८, बुधबार