क्यान इन्फोटेक २०२२ मा स्टार्टअप र इन्नोभेशनलाई बिशेष प्राथमिकता

  • Technology Khabar | २८ चैत्र २०७८, सोमबार
क्यान इन्फोटेक २०२२ मा स्टार्टअप र इन्नोभेशनलाई बिशेष प्राथमिकता

काठमाडौं ।

आगामी २०७९ साल बैसाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिन आयोजना हुने आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको तयारी अन्तिम चरणमा पुगेको छ।

सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोभिड–१९ तथा सोहि सम्बन्धि नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको एवं विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाण्डौंमा मात्र हुने भएको र गत वर्ष प्रदर्शनी आयोजना हुन नसकेका कारण पनि यो पटक प्रदर्शकहरू एवं सम्बन्धित सरोकारवालाहरूमा उत्साह देखिएको छ।

विगतका वर्षहरूमा साधारणतया पुस/माघ/फागुन (Jan/Feb) महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, यो वर्ष कोभिड–१९ का कारण विगत वर्षहरूका इन्फोटेक भन्दा करीब ३ महिना ढीला गरी आयोजना हुंदैछ । यसको आयोजनाले कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ।

क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरि क्यान इन्फोटेक२०२२ डट कम  caninfotech2022.com मार्फत भर्चुअल प्रदर्शनी समेतको ब्यबस्था हुन गईहेको छ। उक्त भर्चुअल प्रदर्शनीको निम्ति मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रुपमा  क्यान महासंघसँग सहकार्य गरेको छ।

क्यान इन्फोटेक २०२२ मा विभिन्न खण्डहरू रहने छन् जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ र इ-गभर्नेन्स मुख्य हुने आयोजकले जनाएको छ।

ब्राण्डिङ खण्डमा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनी एवं उत्पादनहरूको सहभागिता रहनेछ। फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा बित्तिय एवं सम्बन्धित संस्थाहरूको सुचना तथा सञ्चार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धि उत्पादनहरू रहने छन्।

स्टार्टअप र इन्नोभेशन खण्डमा २६ ओटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडिया को प्रदर्शनी गर्ने छन्। इन्नोभेशनका निम्ति क्यान महासंघ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति निम्ति क्यान महासंघले सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरूबाट छनोट गरिसकिएको छ।

सुचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरूको प्रवर्द्धन गर्ने आफ्नो योजनाअनुरुप क्यान महासंघले स्टार्टअप र इन्नोभेशनलाई बिशेष प्राथमिकतामा राखेको हो। सूचनाप्रविधि सम्बन्धि अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीहरूको क्षमता विकास गर्नु, उनीहरूको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई ब्यबसायमा बदल्न मद्दत गर्नु र व्यवहारपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य हो।

यस बाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाइ तथा इण्टरनेट लगायतका कुराहरू रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम सोल्युशन, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रदर्शनी तथा विक्रिमा राख्नेछन्।

त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारि, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने  सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् ।

अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा करिब ३ लाख अवलोकनकर्ता आउने क्यान महासंघले गरेको छ।

प्रकाशित: २८ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...