
काठमाडौं ।
जाजरकोटको जुनिचाँदे गाउँपालिकामा भरपर्दो फोन सेवा नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन्। गाउँपालिकाको वडा नं. २ मजकोटमा रहेको नेपाल टेलिकमको टावरले भरपर्दो काम नगर्दा यहाँका बासिन्दालाई घण्टौँ टाढा हिँडेर फोन गर्नुपर्ने बाध्यता छ।
गाउँपालिकाभित्र रहेका वडाहरूमा हाल नेपाल टेलिकमको स्काई सेवाले काम गर्न छोडेपछि अग्ला डाँडा र रुखमा चढेर फोन गर्नुपर्ने अवस्था रहेको जुनिचाँदे गाउँपालिका ४ का वडा अध्यक्ष हरिबहादुर खड्काले जानकारी दिए। उनका अनुसार बिहान ८ बजे टावर आउँछ, १० बजे जान्छ, फोन गर्नकै लागि समय तालिका गराउनुपर्ने बाध्यता रहेको छ।
गाउँपालिकामा लामो समयसम्म सञ्चालनमा आएको नेपाल टेलिकमको स्काई टावर मर्मत सेवामा कार्यालयले बेवास्ता गर्दा भरपर्दो सेवा नपाइएको बताइएको छ।
जुनिचाँदे गाउँपालिकाका कावा अध्यक्ष शिवा आचार्यले गाउँपालिकामा रहेको टावर स्तरोन्नति नहुँदा सेवाग्राही सेवावाट वञ्चित रहेको बताए।
हाल गाउँपालिकाका सबै काम, बैङ्क सेवा बन्द हुँदा जुनिचाँदेवासी सेवा लिन दुई दिन पैदल हिँडेर जाजरकोट सदरमुकाम खलङ्गा जान बाध्य भइरहेको उनको भनाइ छ।
जुनिचाँदे गाउँपालिका वडा नं. २ मा रहेको नेपाल टेलिकमको स्काई टावरप्रति सरोकारवाला निकाय बेखबर छ।गोरखापत्रबाट
प्रकाशित: १९ चैत्र २०७८, शनिबार