Highlight News

के तपाईँ पनि आफ्ना बालबालिकाका लागि सुरक्षित स्मार्टफोन चाहनुहुन्छ? यी कम्पनीले ल्याउँदैछन् नयाँ विकल्प

के तपाईँ पनि आफ्ना बालबालिकाका लागि सुरक्षित स्मार्टफोन चाहनुहुन्छ? यी कम्पनीले ल्याउँदैछन् नयाँ विकल्प
Global IME Bank

बालबालिकालाई स्मार्टफोनको अनियन्त्रित प्रयोगबाट हुन सक्ने सम्भावित जोखिमप्रति अभिभावकहरूको चिन्ता बढ्दै गएपछि विभिन्न कम्पनीले विशेष रूपमा बालबालिकाका लागि डिजाइन गरिएका फोन विकास गरिरहेका छन्।

अहिले बजारमा उपलब्ध बालमैत्री फोनहरूमा सामान्य स्मार्टफोनमा जस्तै टचस्क्रिन, क्यामरा र सञ्चार सुविधा हुन्छन्। तर, यी फोनको सफ्टवेयरमा व्यापक परिवर्तन गरिएको हुन्छ। जसका कारण वेब ब्राउजर, सामाजिक सञ्जाल, एप स्टोर र अन्य ध्यान भड्काउने सुविधामा पहुँच हटाइएको वा सीमित गरिएको हुन्छ।

अभिभावकले सामान्यतया यस्ता फोनलाई अर्को एउटा एपमार्फत नियन्त्रण गर्न सक्छन्। यसबाट उनीहरूले सम्पर्क सूची स्वीकृत गर्ने, स्थानको जानकारी हेर्ने, स्क्रिन टाइमको सीमा तोक्ने, उपलब्ध एप छनोट गर्ने र कतिपय अवस्थामा साइबर दुर्व्यवहार, अश्लील सामग्री वा अनलाइनमा बालबालिकालाई फसाउन खोज्ने व्यक्तिबारे सूचना प्राप्त गर्न सक्छन्।

यस्ता परिमार्जित फोनका अतिरिक्त केही कम्पनीले अझ सरल विकल्प पनि उपलब्ध गराएका छन्। ती उपकरणमा फोन गर्ने र टेक्स्ट म्यासेज पठाउने सुविधालाई मात्र प्राथमिकता दिइएको छ।

त्यसैगरी बालबालिकाका लागि विशेष रूपमा तयार गरिएका घरमा प्रयोग हुने फोन पनि उपलब्ध छन्। यसमा टिन क्यान र हालै सार्वजनिक गरिएको पिनह्विल होम पर्छन्।

बालबालिकाका लागि फोन बजारलाई आकार दिइरहेका प्रमुख कम्पनी र तिनका उत्पादनबारे यहाँ चर्चा गरिएको छ।

द बार्क फोन

द बार्क फोन बजारमा उपलब्ध बालबालिकाका लागि बनाइएका लोकप्रिय स्मार्टफोनमध्ये एक हो।

सामसङ ग्यालेक्सीको हार्डवेयरमा आधारित यो फोनमा बार्कको निगरानी सफ्टवेयर प्रयोग गरिएको छ। यसले अभिभावकले स्वीकृति दिएका सम्पर्कबाट मात्र फोन कल र टेक्स्ट म्यासेज गर्न अनुमति दिन्छ। बार्कले टेक्स्ट म्यासेज, इमेल, फोटो र समर्थन गरिएका एपहरू निरन्तर जाँच गर्छ। यस क्रममा साइबर दुर्व्यवहार, बालबालिकालाई यौन शोषणका लागि फसाउने प्रयास, आत्महत्यासम्बन्धी विचार, यौन सामग्री तथा अन्य सम्भावित जोखिम पहिचान भएमा अभिभावकलाई सूचना पठाउँछ।

यसको एउटा विशेष सुविधा भनेको बालबालिका हुर्कंदै जाँदा अभिभावकले क्रमशः वेब ब्राउजिङ, एप र अन्य सुविधामा पहुँच खुला गर्न सक्नु हो। यसमा जीपीएस ट्र्याकिङ र स्क्रिन टाइम व्यवस्थापन सुविधा पनि छ।

यसको सामान्य मोडलको मूल्य हाल २४० डलर छ। यसका लागि कम्तीमा मासिक २९ डलरको वायरलेस सेवा योजना लिनुपर्छ। उच्च तहका योजनामा इन्टरनेट पहुँच र असीमित टेक्स्ट म्यासेजको सुविधा पनि उपलब्ध हुन्छ।

ग्याब

ग्याब बालबालिकाका लागि बनाइएका फोनको क्षेत्रमा परिचित नाम हो। तर बार्कको तुलनामा ग्याबले सामग्रीको निगरानीभन्दा पनि अनलाइन जोखिमलाई नै हटाउने कुरामा बढी ध्यान दिएको छ।

यसका फोनमा सामाजिक सञ्जाल, वेब ब्राउजर वा एप स्टोर हुँदैन। यसको सट्टा बालबालिकाले फोन कल गर्ने, टेक्स्ट म्यासेज पठाउने र क्यामेरा, क्यालेन्डर तथा क्यालकुलेटरजस्ता पूर्वस्थापित एप प्रयोग गर्न सक्छन्। कम्पनीले लाखौँ गीत उपलब्ध भएको आफ्नो ‘चिन्तामुक्त’ म्युजिक स्ट्रिमिङ लाइब्रेरीलाई पनि विशेषताका रूपमा प्रस्तुत गरेको छ।

यसका अतिरिक्त अभिभावकले फोनको स्थान हेर्न र केही सेटिङ व्यवस्थापन गर्न सक्छन्। ‘ग्याब गार्ड’ जस्ता वैकल्पिक सेवाले अनावश्यक फोन कल र टेक्स्ट म्यासेज रोक्न सहयोग गर्छन्।

यसका फोनको मूल्य करिब १५९.९९ डलरबाट सुरु हुन्छ। मोबाइल सेवा शुल्क मासिक करिब २४.९९ डलरबाट सुरु हुन्छ।

पिनह्विल

पिनह्विलमा अभिभावकले प्रत्येक एपलाई स्वीकृति दिन, सम्पर्क सूची नियन्त्रण गर्न, स्क्रिन टाइमको समयतालिका बनाउन, आफ्नै आवश्यकता अनुसारको दिनचर्या तयार गर्न र स्थानको इतिहास हेर्न सक्छन्।

टेकक्रञ्चका अनुसार यसको एउटा विशेष सुविधा दिनभरिका लागि फरक–फरक ‘मोड’ बनाउन सक्नु हो। उदाहरणका लागि, विद्यालय समयमा फोन कल र नेभिगेसनको सुविधा मात्र उपलब्ध गराउने र गृहकार्य सकिएपछि थप सुविधाहरू खुला गर्ने व्यवस्था मिलाउन सकिन्छ।

पिनह्विलका फोनको मूल्य करिब ११९ डलरबाट सुरु हुन्छ। यसको केयरगिभर पोर्टलको सदस्यता मोबाइल सेवा बाहेक मासिक १४.९९ डलरबाट सुरु हुन्छ। मोबाइल सेवा भने यससँग आबद्ध सेवा प्रदायकबाट छुट्टै लिन सकिन्छ।

कम्पनीले हालै ६८ र ७९ डलर मूल्यका दुईवटा ल्यान्डलाइन फोन पनि सार्वजनिक गरेको छ। यसले १६० डलर मूल्यको स्मार्टवाचसमेत उपलब्ध गराउँछ।

टेराक्युब थ्राइभ

सन् २०२२ मा सार्वजनिक भएको टेराक्युबले एन्ड्रोइडको परिमार्जित संस्करण ‘थ्राइभ ओएस’ उपलब्ध गराउँछ।

यसबाट अभिभावकले प्रत्येक एप डाउनलोड गर्न स्वीकृति दिन, वेब ब्राउजिङमा फिल्टर लगाउन, कुनै विशेष एप वा समग्र फोन प्रयोगको समयसीमा तोक्न, स्थानको जानकारी हेर्न र विद्यालय वा सुत्ने समयका लागि छुट्टै दिनचर्या बनाउन सक्छन्। तर यसमा सामान्य स्मार्टफोनका धेरैजसो सुविधा उपलब्ध भएकाले प्रायः अलि ठूला उमेरका बालबालिकाका लागि उपयुक्त मानिन्छ।

थ्राइभको हालको मूल्य ९९ डलर छ। यसको सेवा योजना मासिक ३५ डलरबाट सुरु हुन्छ।

ओमा माइफोन

यस सूचीमा रहेका अन्य उत्पादनभन्दा फरक ओमा माइफोन मोबाइल फोन होइन। यो परम्परागत घरायसी ल्यान्डलाइन फोनको आधुनिक विकल्पका रूपमा तयार गरिएको बालमैत्री फोन हो।

यसको ‘ट्रस्टेड सर्कल’ सुविधामार्फत स्वीकृत सम्पर्कमा रहेका व्यक्तिबीच मात्र फोन कल गर्न सकिन्छ। यसमा निश्चित समयका लागि ‘क्वाइट आवर्स’ अर्थात् फोन प्रयोग गर्न नमिल्ने समय तोक्न सकिने सुविधा पनि छ। यसले ठेगानाका आधारमा ९११ आपत्कालीन सेवा उपलब्ध गराउँछ। ९११ मा फोन गरिएमा अभिभावकलाई आपत्कालीन सूचना पठाउँछ। अभिभावकले अनलाइन पोर्टलमार्फत फोन कलको विवरण पनि हेर्न सक्छन्।

यसमा एप, इन्टरनेट ब्राउजिङ, टेक्स्ट म्यासेज वा सामाजिक सञ्जालको सुविधा छैन।

यस फोनको मूल्य ९९.९९ डलर छ भने सेवा शुल्क मासिक ७.९९ डलरबाट सुरु हुन्छ।

टिन क्यान

१०० डलर मूल्यको टिन क्यान हेर्दा परम्परागत ल्यान्डलाइन फोनजस्तै देखिन्छ। यसको विशेष डिजाइन टिनको क्यानबाट प्रेरित छ, जसका कारण यसको नाम पनि टिन क्यान राखिएको हो।

यो उपकरण प्रयोग गर्न परम्परागत फोन ज्याक आवश्यक पर्दैन। यसले वाइफाइमार्फत काम गर्छ। स्वीकृत सम्पर्कमा रहेका व्यक्तिले मात्र यसमा फोन गर्न सक्छन्। यसले अनावश्यक फोन कल वा अनुमति नलिइएका व्यक्तिबाट हुने सम्पर्क रोक्छ। अभिभावकले प्रयोग गर्न सजिलो अर्को एपमार्फत सम्पर्क सूची व्यवस्थापन गर्न सक्छन्।

टिन क्यानले आफ्ना प्रयोगकर्ताबीच निःशुल्क फोन कल गर्न मिल्ने योजना उपलब्ध गराएको छ। त्यस्तै, मासिक ९.९९ डलरको योजनामा स्वीकृत सबै सम्पर्कमा फोन गर्न सकिन्छ।

वफल

यस क्षेत्रमा नयाँ प्रवेश गरेको वफलले हालै स्क्रिनरहित उपकरणका लागि अग्रिम अर्डर लिन थालेको छ।

यसअन्तर्गत ११९ डलर मूल्यको ‘वाफल होम’ ल्यान्डलाइन फोन हो भने १६९ डलर मूल्यको ‘वाफल गो’ पोर्टेबल वाकीटकी वा बालबालिकाको खेलौनाजस्तै देखिन्छ। यसमा तीनवटा साधारण बटन छन्, जसबाट फोन कल गर्न र भ्वाइस नोट सुन्न मात्र सकिन्छ।

अभिभावकले अर्को एपमार्फत सम्पर्क सूची स्वीकृत गर्न, उपकरणको स्थान हेर्न र कुन समयमा फोन कल गर्न मिल्ने भन्ने नियन्त्रण गर्न सक्छन्।

यी नयाँ फोन नोभेम्बर २३ देखि ढुवानी गरिने कम्पनीले जनाएको छ।

येलो!

क्यानडाको दूरसञ्चार कम्पनी टेक्स्टनाउले हालै बालबालिकाका लागि नयाँ मोबाइल फोन सार्वजनिक गरेको छ। यसको नाम ‘येलो!’ राखिएको छ।

हेर्दा यो सामान्य टचस्क्रिन स्मार्टफोनजस्तै देखिए पनि यसमा एप स्टोर, सामाजिक सञ्जाल वा इन्टरनेटको निर्बाध पहुँच छैन।

अभिभावकले यसबाट बालबालिकाको स्थान र फोनको ब्याट्री अवस्था हेर्न सक्छन्। साथै, उनीहरूले बालबालिकाले खेल्न पाउने गेम र फोनको सम्पर्क सूचीमा राख्न मिल्ने व्यक्तिहरूलाई पनि नियन्त्रण गर्न सक्छन्।

येलो! फोनको प्रारम्भिक मूल्य १४९.९९ डलर छ। यसको सेवा योजना मासिक १९.९९ डलर पर्छ।

Sajilo Visa
easy care