ताइवानमा बोनस विवाद बढ्दै जाँदा माइक्रोनका कर्मचारीको युनियनले हडताल गर्ने

  • Technology Khabar | ५ कार्तिक २०८३, बिहीबार
ताइवानमा बोनस विवाद बढ्दै जाँदा माइक्रोनका कर्मचारीको युनियनले हडताल गर्ने

काठमाडौं ।

ताइवानको ताओयुआनमा माइक्रोन टेक्नोलोजीका कर्मचारीको प्रतिनिधित्व गर्ने युनियनले बिहीबार हडताल गर्ने जनाएको छ। अमेरिकी चिप निर्माता कम्पनी माइक्रोन र ताइचुङमा कार्यरत कर्मचारीको प्रतिनिधित्व गर्ने अर्को युनियनबीच वार्ता हुन लागेकै दिन हडताल गर्न लागिएको हो। यसले कर्मचारीको बोनससम्बन्धी विवाद थप चर्काएको छ।

यो हडतालले माइक्रोनको सबैभन्दा महत्त्वपूर्ण उत्पादन केन्द्रमध्ये एकमा श्रम विवादलाई थप गम्भीर बनाएको छ। कम्पनीले यही केन्द्रमा कृत्रिम बुद्धिमतासम्बन्धी सर्भरमा प्रयोग हुने डीआरएएम र उच्च ब्यान्डविथ मेमोरी (एचबीएम) चिप उत्पादन गर्छ।

रोयटर्सका अनुसार ताओयुआन युनियनले ताइचुङ युनियनप्रति ऐक्यबद्धता जनाउन र नाफा बाँडफाँटसम्बन्धी ठोस प्रस्ताव ल्याउन माइक्रोनमाथि दबाब बढाउन हडताल गर्न लागेको बताएको छ।

माइक्रोनले ताइवानमा करिब १५ हजार कर्मचारीलाई रोजगारी दिएको छ। कम्पनीको ताओयुआन र ताइचुङस्थित उत्पादन केन्द्रमा कार्यरत कर्मचारीका लागि छुट्टाछुट्टै युनियन छन्। कम्पनीले ताइवानमा १.६ ट्रिलियन ताइवानी डलर (४९ अर्ब अमेरिकी डलर) भन्दा बढी लगानी गरेको जनाएको छ।

माइक्रोन र ताओयुआन युनियनबीच गत सेप्टेम्बरमा भएको मध्यस्थता वार्ता सहमतिबिना टुङ्गिएको थियो। युनियनले अक्टोबरको सुरुमै आफ्ना सदस्यबाट हडताल गर्ने अनुमति प्राप्त गरेको थियो।

ताइवानमा माइक्रोनको सबैभन्दा ठूलो उत्पादन केन्द्रमा कार्यरत कर्मचारीको प्रतिनिधित्व गर्ने ताइचुङ युनियन भने कम्पनीसँग वार्तामै छ। उक्त युनियनले हडताल गर्ने वा नगर्ने भन्ने विषयमा अहिलेसम्म मतदान गराएको छैन।

ताओयुआन युनियनले ऐक्यबद्धतास्वरूप गरिने हडताल कति समयसम्म चल्ने भन्ने खुलाएको छैन। उसले बिहीबार थप विवरण सार्वजनिक गर्ने जनाएको छ।

ताओयुआन युनियनले सोमबार जारी गरेको विज्ञप्तिमा भनेको छ, “हामी आफ्ना गतिविधिमार्फत हालको प्रणालीप्रतिको असन्तुष्टि व्यक्त गर्नेछौँ र उचित नाफा बाँडफाँट प्रणाली स्थापना गर्ने आफ्नो प्रतिबद्धता देखाउनेछौँ।”

ताइवानका राष्ट्रपति लाइ चिङ-तेले गत साता माइक्रोन र यसका कर्मचारीलाई ‘इमानदारीपूर्वक’ वार्ता गर्न आग्रह गरेका थिए।

प्रकाशित: ५ कार्तिक २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

  • Technology Khabar
  • ५ कार्तिक २०८३, बिहीबार