काठमाडौं ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ग्रामीण, दुर्गम तथा हिमाली क्षेत्रमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तारमा जोड दिएको बताएका छन्।
‘ईन्टरनेट गभर्नेन्स इन्सिच्युट (आईजीआई)’ ले आयोजना गरेको १७ औं ‘एसिया प्यासिफिक रिजनल ईन्टरनेट गभर्नेन्स फोरम २०२६’ को समापन समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल प्रविधिले नागरिकको शिक्षा, सञ्चार, व्यवसाय, सार्वजनिक सेवा तथा सार्वजनिक जीवनमा सहभागितालाई सहज बनाउँदै गएको बताए।
उनले नेपालको भौगोलिक विविधताका कारण विशेषगरी ग्रामीण, दुर्गम र हिमाली क्षेत्रमा इन्टरनेट पहुँच विस्तार चुनौतीपूर्ण भए पनि सरकारले यसलाई प्राथमिकतामा राखेको बताए। इन्टरनेटको पहुँच विस्तारसँगै सेवाको गुणस्तर, विश्वसनीयता र सबलता सुनिश्चित गर्न पनि सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
“डिजिटल रूपान्तरणको उद्देश्य देशलाई डिजिटल बनाउनु मात्र नभै डिजिटल प्रविधिमार्फत नागरिकको जीवनमा सुधार ल्याउनु पनि हो,” सञ्चारमन्त्री तिमिल्सिनाले भने।
उनले इन्टरनेटको पहुँच मात्र विस्तार गरेर नपुग्ने बताउँदै नागरिकले आवश्यक परेको समयमा भरपर्दो र गुणस्तरीय सेवा पाउनुपर्नेमा जोड दिए। व्यवसायका लागि विश्वसनीय सञ्जाल, सार्वजनिक सेवाका लागि निरन्तर सञ्चार तथा विपद्का समयमा समेत सञ्चालनमा रहने सञ्चार प्रणाली आवश्यक रहेको उनले बताए।
सञ्चारमन्त्री तिमिल्सिनाले हालैको रसुवा भोटेकोशी–त्रिशूली विपद्ले सञ्चार पूर्वाधारको महत्व थप उजागर गरेको उल्लेख गरे। सडक तथा अन्य भौतिक संरचना क्षतिग्रस्त हुँदा, समुदाय एकअर्काबाट अलग हुँदा र उद्धार तथा राहतमा समन्वय आवश्यक पर्दा सञ्चार सेवा अत्यावश्यक हुने उनको भनाइ थियो।
उनले डिजिटल प्रविधिबाट ग्रामीण क्षेत्रका विद्यार्थीले विश्वभरको ज्ञानमा पहुँच पाउन सक्ने, किसानले बजार तथा मौसमसम्बन्धी सूचना प्राप्त गर्न सक्ने र साना उद्यमीले स्थानीय सीमाभन्दा बाहिरका बजारमा पहुँच बनाउन सक्ने अवस्था सिर्जना भएको बताए।
सरकारले आगामी दिनमा डिजिटल पहुँचसँगै डिजिटल समावेशिता, साइबर सुरक्षा, विश्वसनीयता र विपद् प्रतिरोधी सञ्चार प्रणाली विकासमा समेत ध्यान दिने सञ्चारमन्त्री तिमिल्सिनाले बताए।
प्रकाशित: २१ आश्विन २०८३, बुधबार