काठमाडौं ।
अल्फाबेटको गुगलले बुधबार जेमिनी ४ पुस्ताका मोडलहरूको आधार बन्ने नयाँ उच्चस्तरीय कृत्रिम बुद्धिमता मोडल घोषणा गरेको छ। एआई क्षेत्रमा प्रतिस्पर्धी एन्थ्रोपिक र ओपनएआईसँगको प्रतिस्पर्धामा अगाडि बढ्ने प्रयासस्वरूप गुगलले यो मोडल सार्वजनिक गरेको हो।
कम्पनीका प्रवक्ताका अनुसार नयाँ मोडल ‘आर्गन’ गुगलका अघिल्ला उन्नत ‘प्रो’ मोडलभन्दा आकारमा ठूलो छ।
प्रवक्ताले भने, “यो अहिलेसम्म हामीले बनाएको सबैभन्दा सक्षम मोडल हो, जसलाई जटिल कामका लागि तयार गरिएको हो। कोडिङ र साइबरसम्बन्धी प्रमुख बेन्चमार्कमा यसको प्रदर्शन (ओपनएआईको) एस्ट्रा र (एन्थ्रोपिकको) ओपसजस्ता अग्रणी मोडलसँग तुलनायोग्य रहेको हामीले देखेका छौँ।”
गुगलले यो मोडल केही छनोट गरिएका साइबर सुरक्षा साझेदारलाई उपलब्ध गराएको जनाएको छ। साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सार्वजनिक गर्नुअघि मोडलमा पहुँच उपलब्ध गराउने विषयमा सञ्चालन गरेको स्वैच्छिक प्रक्रियामा पनि सहभागी भएको गुगलले जनाएको छ। तर मोडललाई सार्वजनिक रूपमा कहिले उपलब्ध गराइने भन्नेबारे कम्पनीले कुनै समयसीमा दिएको छैन।
कम्पनीको प्रेस विज्ञप्तिअनुसार विभिन्न उद्योगस्तरीय बेन्चमार्कमा आर्गनले एस्ट्रा र ओपसभन्दा राम्रो अंक प्राप्त गरेको छ। तर अन्य केही मापदण्डमा भने आर्गन पछाडि रहेको छ। गुगलले विज्ञप्तिमा समावेश गरेका चारवटा कोडिङसम्बन्धी बेन्चमार्कमध्ये दुईमा पनि आर्गन पछि परेको रोयटर्सले उल्लेख गरेको छ।
गुगलका अनुसार अब कम्पनीले जेमिनी ३.५ प्रो सार्वजनिक गर्ने योजना बनाएको छैन। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले यसलाई सुरुमा जुनमा सार्वजनिक गर्ने बताएका थिए।
यसबीच गुगलले आफ्नो डीपमाइन्ड एआई प्रयोगशालामा व्यापक परिवर्तन गरेको छ। यसको संस्थापक तथा प्रमुख कार्यकारी डेमिस हसाबिस जिम्मेवारीबाट पछि हटेका छन् भने जेमिनी मोडलसँग सम्बन्धित केही प्रमुख नेताहरूले पनि कम्पनी छाडेका छन्।
एआई मोडल सार्वजनिक गर्न भएको महिनौँको ढिलाइका कारण गुगल एन्थ्रोपिक र ओपनएआईभन्दा पछाडि परेको छ। यी दुवै कम्पनीले आफ्ना प्रमुख मोडलमा नयाँ संस्करण सार्वजनिक गर्दै एआई अनुसन्धानको क्षेत्रमा निरन्तर अगाडि बढिरहेका छन्।
पिचाईले जुलाईमा गुगल एआई प्रतिस्पर्धामा पछाडि परेको भन्ने धारणालाई अस्वीकार गरेका थिए। तर पछिल्ला महिनाहरूमा गुगलले जेमिनीका अत्याधुनिक क्षमताको प्रचार गर्नुभन्दा प्रतिस्पर्धी मोडलको तुलनामा यसको कम लागतलाई बढी जोड दिन थालेको छ।
प्रकाशित: १७ आश्विन २०८३, शनिबार