काठमाडौं ।
सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित बनाउन स्वचालित बनाउने उद्देश्यले उक्त प्रणाली विकास गरिएको हो।
हाल सबै सर्भेयरको तथ्याङ्क प्रणालीमा प्रविष्ट भइसकेको छ । यस प्रणालीले सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता तथा पोर्टफोलियोलगायतका आधारमा सर्भेयर छनोटलाई पारदर्शी बनाउने छ।
यस प्रणालीले तोकिएका मापदण्डका आधारमा स्वचालित रूपमा सर्भेयर छनोट गर्नेछ भने सर्भेयरलाई पटक–पटक काम दिने वा अरू सर्भेयरलाई पर्याप्त अवसर नदिने अवस्थालाई पहिचान गर्न र नियन्त्रण गर्न सहयोग पुग्नेछ।
सर्भेयरले कति काम पाएको छ, कुन काम सम्पन्न गरेको छ र नयाँ काम लिन सक्ने अवस्थामा छ कि छैन भन्ने विवरण पनि प्रणालीबाट ‘ट्रयाक’ गर्न सकिनेछ । यस प्रणालीले बीमा दाबीको प्रक्रियामा समय र लागतसमेत घटाउने कार्यालयले जनाएको छ।
प्रकाशित: १५ आश्विन २०८३, बिहीबार