एआई जोखिमबारे अतिरञ्जित भाष्य नगर्न विज्ञको आग्रह

  • Technology Khabar | ६ आश्विन २०८३, मंगलवार
एआई जोखिमबारे अतिरञ्जित भाष्य नगर्न विज्ञको आग्रह

काठमाडौं ।

संयुक्त राष्ट्रसङ्घअन्तर्गत एआईसम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलका विज्ञहरूले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिमबारे भय पैदा गर्ने अतिरञ्जित भाष्यभन्दा वैज्ञानिक प्रमाण र तर्कमा आधारित बहस आवश्यक रहेको बताएका छन् ।

महासभाको सन्दर्भमा सोमबार न्युयोर्कमा आयोजित कार्यक्रममा गुगल डीपमाइन्डकी कार्यकारी तथा प्यानलकी सदस्य जोएल बार्रलले एआईबारे थाहा भएका र थाहा नभएका विषय छुट्याउन वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्ने बताइन्। “डरमा लगानी गर्नु त्यति उपयोगी हुँदैन”, उनले भनिन्।

ओपनएआईका पूर्वकर्मचारी ज्याकोब कोक्सनले एआईले दशकको अन्त्यसम्ममा सबै मानिसको ज्यान लिन सक्ने विकासकर्ताहरूले विश्वास गरेको बताएका थिए। त्यस्तै, गुगल डीपमाइन्डका पूर्वअनुसन्धान इन्जिनियरले एआईबाट मानव जातिको विनाश रोक्न निकै ढिला भइसकेको दाबी गरेका थिए ।

नोबेल शान्ति पुरस्कार विजेता तथा खोजी पत्रकार मारिया रेसाले एआईसम्बन्धी बहसलाई मानव अस्तित्व समाप्त हुने वा एआईले खासै असर नगर्ने दुई अतिवादी धारणामा सीमित गर्न नहुने बताइन्। “वास्तविकता धेरै सूक्ष्म र जटिल छ”, उनले भनिन्।

प्यानलका सहअध्यक्ष योशुआ बेङ्गियोले एआई जोखिमबारे वैज्ञानिकहरूले प्रमाणबाट वास्तवमै के जान्न सकेका छन् र त्यसका आधारमा कति टाढासम्म अनुमान गर्न सकिन्छ भन्ने छुट्याउनुपर्ने बताए। सन् २०२५ मा गठित प्यानलको उद्देश्य एआईसम्बन्धी वैज्ञानिक बुझाइ बढाउनु र संयुक्त राष्ट्रसङ्घका छलफललाई प्रमाणमा आधारित बनाउन सहयोग गर्नु हो । एआई जोखिमबारे विश्वव्यापी रूपमा अनिश्चितता र जोखिमको गम्भीरतासहित तर्कसङ्गत छलफल आवश्यक रहेको उनले बताए।

प्रकाशित: ६ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार