काठमाडौं ।
नेपाल टेलिकमले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गर्दै विभिन्न राहत तथा सञ्चार सुविधा थप गरेको छ।
कम्पनीले आज एक विज्ञप्ति प्रकाशित गरी यसबारे जानकारी दिएको हो।
टेलिकमले विज्ञप्तिमा जनाए अनुसार रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका बाढी प्रभावित नागरिक तथा पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी र मुग्लिन–नारायणगढ सडक क्षेत्र आसपासका प्रभावितलाई सुविधा उपलब्ध गराइनेछ।
बाढीबाट क्षति भएका र पुनः प्रयोग गर्न नसकिने एनटी फाइबर केबल तथा राउटर निःशुल्क उपलब्ध गराएर जडान गरिनेछ। एनटी फाइबर प्रयोग गरिरहेका ग्राहकको सेवा अवधि सकिएमा तीन महिनाका लागि निःशुल्क समय थप गरिने टेलिकमले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा रहेका ग्राहकको नाममा रहेको सिमकार्ड पुनः वितरण गरिनेछ। त्यसका लागि पाँचवटा सम्पर्क नम्बर उपलब्ध गराउनुपर्ने, ती नम्बरको अन्तिम स्थान बाढी प्रभावित क्षेत्रमा देखिएको हुनुपर्ने र सम्बन्धित नम्बरको केवाईसी अद्यावधिक गर्नुपर्नेछ।
बाढीका कारण विभिन्न स्थानमा फसेका व्यक्तिसँग सञ्चार सम्पर्क कायम गर्न नेपाली सेनाको समन्वयमा २१० थान सिमकार्ड उपलब्ध गराइएको छ।
यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मुख्य र ब्याकअप सर्भरबीच निःशुल्क कनेक्सनका लागि डार्क फाइबर फिजिकल कनेक्टिभिटी उपलब्ध गराइएको छ। मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सीएमसी नेपाल) को टोल फ्री नम्बर १८१०५०००४०२ मा तीन महिनासम्मको मासिक बिलसमेत निःशुल्क गरिएको छ।
राहत व्यवस्थापनका लागि काठमाडौंमा एक महिनासम्म १०० एमबीपीएस इन्टरनेट, जिल्ला प्रशासन कार्यालय भरतपुरको विपद् व्यवस्थापन युनिटलाई एक वर्षका लागि १०० एमबीपीएस इन्टरनेट र विपद् प्राधिकरणलाई एक वर्षका लागि उच्च गतिको निःशुल्क इन्टरनेट तथा प्राविधिक सहयोग उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
कम्पनीले बाढी प्रभावित क्षेत्रको राहत, उद्धार र पुनर्स्थापनाका लागि कर्मचारीको योगदानसहित विभिन्न शीर्षकमा यसअघि नै झन्डै २० करोड रुपैयाँ सहयोग उपलब्ध गराइसकेको छ। बाढीबाट क्षतिग्रस्त दूरसञ्चार पूर्वाधारको पुनर्निर्माण पनि जारी रहेको टेलिकमले जनाएको छ।
प्रकाशित: ५ आश्विन २०८३, सोमबार