सेमीकन्डक्टर उपकरण निर्माता एप्लाइड मटेरियल्सले भारतमा ५ अर्ब डलर लगानी गर्ने

  • Technology Khabar | ४ आश्विन २०८३, आईतवार
सेमीकन्डक्टर उपकरण निर्माता एप्लाइड मटेरियल्सले भारतमा ५ अर्ब डलर लगानी गर्ने

काठमाडौं ।

अमेरिकी सेमीकन्डक्टर उपकरण निर्माता कम्पनी ‘एप्लाइड मटेरियल्स’ले भारतमा आफ्नो उपस्थिति विस्तार गर्न आगामी दशकमा ५ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले भारतको प्रमुख चिप सम्मेलन ‘सेमिकन इन्डिया’ मा सो घोषणा गरेको हो।

नयाँ दिल्लीमा आयोजित तीन दिने यस कार्यक्रममा भारतले सेमीकन्डक्टर क्षेत्रसम्बन्धी आफ्ना महत्वाकांक्षाहरू प्रस्तुत गरेको छ। चिप निर्माणका लागि आवश्यक सामग्री, डिजाइन, फ्याब्रिकेसन (उत्पादन) र प्याकेजिङजस्ता विषयहरू समेटिएको यस कार्यक्रममा ५२ देशका ६०० भन्दा बढी कम्पनी तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।

सरकारी अनुमान अनुसार, भारतमा सेमीकन्डक्टरको खपत सन् २०२५ मा ४५ देखि ५० अर्ब डलर रहेकोमा सन् २०३० सम्ममा बढेर ११० अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ।

विश्वकै ठूला सेमीकन्डक्टर उपकरण निर्माताहरूमध्ये एक, ‘एप्लाइड मटेरियल्स’ ले भारतमा गर्ने लगानी अनुसन्धान, आपूर्ति शृङ्खलाको विस्तार र जनशक्ति विकासमा केन्द्रित हुने बताएको ईटीले रिपोर्ट गरेको छ।

सेमीकन्डक्टर सम्बन्धी दुई प्रमुख प्रोत्साहन कार्यक्रमहरूमा २१ अर्ब डलरभन्दा बढी लगानीको प्रतिबद्धता जनाएको भारत, ताइवानजस्ता देशहरूले दशकौँ लगाएर निर्माण गरेको यो उच्च-पुँजी आवश्यक पर्ने उद्योगमा ढिलो गरी प्रवेश गरेको हो।

भारतको प्रोत्साहन कार्यक्रमअन्तर्गत विगत पाँच वर्षमा १२ ओटा परियोजनाहरू स्वीकृत भएका छन् र अमेरिकी कम्पनी ‘माइक्रोन टेक्नोलोजी’ द्वारा सञ्चालित एउटासहित तीनवटा चिप-प्याकेजिङ प्लान्टहरूले व्यावसायिक उत्पादन सुरु गरिसकेका छन्। यद्यपि, भारतको यस प्रयासबाट ठूलो स्तरको ‘फेब्रिकेसन प्लान्ट’ (उत्पादन केन्द्र) मार्फत एउटा पनि चिप उत्पादन हुन भने बाँकी नै छ।

यस अभियानको सबैभन्दा महत्त्वपूर्ण परियोजना मानिएको-पश्चिमी राज्य गुजरातमा रहेको टाटा इलेक्ट्रोनिक्सको १० अर्ब डलरको ‘फ्याब’ (चिप उत्पादन केन्द्र)-बाट हुने व्यावसायिक उत्पादनमा झन्डै दुई वर्षको ढिलाइ भएको छ।

प्रकाशित: ४ आश्विन २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार