काठमाडौं ।
पर्यटकलाइ घुमाउँदै बसमै पार्टीको मनोरंजन दिने लक्षसहित ‘पार्टी बस नेपाल’ पुनः सञ्चालन (रिलन्च) मा आएको छ।
रेस नेपाल प्रालिद्वारा सञ्चालित पार्टी बसको एक विशेष समारोहबीच औपचारिक पुन सुरूआत गरिएको हो। पार्टी बस नेपालमा बसमा चढेर घुम्दै, खानपिन, नाचगान गर्दै मनोरंजन लिन सकिन्छ।
कम्पनका अनुसार आधुनिक बसमा ३० जनाले पार्टी गर्न सकिने क्षमता रहेको छ। बसमा प्रवेश गर्दा कुनै सुविधासम्पन्न लाउन्ज वा क्लबमा प्रवेश गरेको झल्को आउँछ। आकर्षक नियोन लाइट, आरामदायी लक्जरी सोफा, खानपिनका लागि सुसज्जित बार र बीच भागमा डान्स पोलको समेत व्यवस्था गरिएको छ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईर्ओ) समीर श्रेष्ठले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी पहिलोपटक मोबाइल मनोरञ्जनको नयाँ अवधारणासहित यसको सुरुआत गरिएको स्मरण गरे। उनले भने, ‘कोभिड महामारीका कारण व्यवसाय रोक्नुपर्ने अवस्था आएपछि हामीले यसलाई बन्द नगरी भारतमा पुर्याएर निरन्तरता दिएका थियौं। तर यसको वास्तविक पहिचान र आवश्यकता नेपालमै भएकाले स्वदेशी पर्यटन उद्योगलाई सघाउन हामी फेरि यसलाई आफ्नै घर फर्काएर ल्याएका छौं।’
सीईओ श्रेष्ठका अनुसार कम्पनीले अब सेवा विस्तारको नयाँ योजना अघि सारेको छ। निकट भविष्यमै नेपालका प्रमुख सहरहरूमा सेवा विस्तार गर्दै कारभान र क्याम्पर भ्यानहरूसमेत सञ्चालनमा ल्याइने उनले बताए।
प्रकाशित: ३ आश्विन २०८३, शनिबार