काठमाडौं ।
अमेरिकी स्याटेलाइट कम्पनी भायास्याट र संयुक्त अरब इमिरेट्स (यूएई) को स्याटेलाइट अपरेटर स्पेस४२ ले स्मार्टफोन तथा अन्य उपकरणलाई सिधै स्याटेलाइटसँग जोड्ने ‘डाइरेक्ट–टु–डिभाइस’ प्लेटफर्म विकास गर्न संयुक्त कम्पनी स्थापना गर्ने भएका छन्।
दुवै कम्पनीले सोमबार इक्वेटिज नामको नयाँ कम्पनी स्थापना गर्ने सहमति भएको बताएका छन्। यस परियोजनामा दुवै कम्पनीले गरी १ अर्ब अमेरिकी डलरसम्म इक्विटी लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। सुरुवाती चरणमा भायास्याट र स्पेस४२ ले समान रूपमा ४० करोड डलर लगानी गर्नेछन् भने स्पेस४२ ले भविष्यको अर्को लगानी चरणमा थप २० करोड डलर लगानी गर्ने अपेक्षा गरिएको छ।
इक्वेटिज स्थापना भएपछि भायास्याट यसको प्रमुख प्राविधिक ठेकेदारका रूपमा रहने अपेक्षा गरिएको छ। प्लेटफर्मले स्याटेलाइट र स्थलीय मोबाइल नेटवर्कलाई एउटै गैर–भूसतही नेटवर्क (एनटीएन) प्रणालीमार्फत एकीकृत गर्नेछ।
रोयटर्सका अनुसार यसबाट सामान्य स्मार्टफोन तथा इन्टरनेट अफ थिङ्स (आईओटी) उपकरणमार्फत मोबाइल सेवा उपलब्ध गराउन सकिनेछ। विशेषगरी मोबाइल नेटवर्कको पहुँच कमजोर भएका वा पूर्ण रूपमा नभएका क्षेत्रमा आवाज, एसएमएस र डेटा सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
इक्वेटिजले विभिन्न दूरसञ्चार तथा स्याटेलाइट अपरेटरका लागि साझा स्याटेलाइट र ग्राउन्ड नेटवर्कसमेत सञ्चालन गर्नेछ। यसले छुट्टाछुट्टै पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता घटाउँदै लागत कम गर्न, सेवा विस्तारको गति बढाउन र नेटवर्कको पहुँच विस्तार गर्न सहयोग पुग्ने कम्पनीहरूको दाबी छ।
नयाँ कम्पनीमा संस्थापकहरूको इक्विटीसँगै तेस्रो पक्षको इक्विटी र ऋणमार्फत लगानी जुटाइनेछ। भायास्याट र स्पेस४२ ले यस परियोजनाको घोषणा मार्च २०२५ मा गरेका थिए र त्यसयता साझा एनटीएन पूर्वाधारसम्बन्धी प्राविधिक तथा व्यावसायिक अध्ययन गर्दै आएका थिए।
प्रकाशित: ३१ भाद्र २०८३, बुधबार