रुसी अपरेटरहरूद्वारा प्रमुख सहरहरूमा फाइभजी सेवाको सुरुवात

  • Technology Khabar | ३० भाद्र २०८३, मंगलवार
रुसी अपरेटरहरूद्वारा प्रमुख सहरहरूमा फाइभजी सेवाको सुरुवात

काठमाडौं ।

रुसी अपरेटरहरूद्वारा प्रमुख सहरहरूमा फाइभजी सेवा सुरुवात गरेका छन्। मोबाइल अपरेटरहरू एमटीएस, बीलाइन, मेगाफोन र टी२ ले प्रमुख सहरहरूमा ५जी सेवा सुरु गरेका हुन्।

एमटीएसले जनाएअनुसार, राजधानी मस्को, सेन्ट पिटर्सबर्ग, नोवोसिबिर्स्क, येकातेरिनबर्ग र उफामा १.५ जीबीपीएस सम्मको गतिसहित ४.९ मेगाहर्ज ब्यान्डमा यसको ५जी सेवा उपलब्ध छ।

साथै, कम्पनीले माथि उल्लिखित सहरहरूसहित काजान, क्रास्नोदार, नोवोरोसिस्क, भोलोग्डा, मुर्मान्स्क, पेट्रोजाभोद्स्क, सिक्टिभ्कार, प्स्कोभ, अनापा, भेल्लिकिये-लिकि र उख्ता गरी १६ सहरहरूमा पहिले एलटीईका लागि प्रयोग हुँदै आएको २,१०० मेगाहर्ज ब्यान्डमा पनि ५जी सेवा सुरु गर्दैछ।

वर्षौँदेखिको नियामक विवाद र पश्चिमी प्रतिबन्धहरूका बाबजुद, रुसी मोबाइल फोन अपरेटरहरूले १६ प्रमुख सहरहरूमा आफ्नो पहिलो व्यावसायिक फाइभजी नेटवर्क सञ्चालनमा ल्याएको डिजिटल विकास, सञ्चार तथा आमसञ्चार मन्त्रालयले शुक्रबार घोषणा गरेको हो।

राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनमा सुरु गरिएको यो सेवा विस्तारको कार्य यस्तो समयमा अघि बढाइएको छ, जतिबेला देशैभरि दैनिक रूपमा हुने युक्रेनी ड्रोन आक्रमणहरूलाई विफल पार्न भन्दै अधिकारीहरूले नियमित रूपमा मोबाइल इन्टरनेट सेवामा अवरोध पुर्याइरहेका छन्।

अन्तर्राष्ट्रिय रूपमा ५जीका लागि प्रयोग हुने ३.४–३.८ गिगाहर्ज फ्रिक्वेन्सी दायरामा रुसको सेना र सुरक्षा निकायले आफ्नो एकल नियन्त्रण कायम राखेका छन्। दूरसञ्चार सेवा प्रदायकहरूले उक्त फ्रिक्वेन्सी दायरामा पहुँच पाउनका लागि प्रयास गरे पनि सफल हुन सकेका छैनन्।

यसको सट्टा, प्रमुख मोबाइल फोन अपरेटरहरूलाई ४.६३–४.९९ गिगाहर्ज फ्रिक्वेन्सी दायरा प्रयोग गर्ने अनुमति दिइएको छ। यसको अर्थ रुसमा आईफोनहरू ५जीमा जोडिन असमर्थ हुनेछन्, किनकि तिनले तल्लो फ्रिक्वेन्सीमा काम गर्छन्।

रुसले सन् २०२६ को अन्त्यसम्ममा थप ५० सहरमा ५जी सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: ३० भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...