वन कभर र स्किल स्पार्क बीच साझेदारी

  • Technology Khabar | ३० भाद्र २०८३, मंगलवार
वन कभर र स्किल स्पार्क बीच साझेदारी

काठमाडौं ।

प्रविधि शिक्षा र उद्योगबीचको दूरी कम गर्दै विद्यार्थीलाई व्यावहारिक सिकाइ र रोजगारीका लागि तयार पार्ने उद्देश्यले वन कभर प्रालि र स्किल स्पार्क बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीसँगै वन कभर, स्किल स्पार्कको आधिकारिक उद्योग साझेदारका रूपमा जोडिएको छ। साझेदारीले नेपालको आईटी क्षेत्रमा आवश्यक दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सहकार्यअन्तर्गत स्किल स्पार्कका विद्यार्थीले साइबर सुरक्षा र नेटवर्क सुरक्षाका क्षेत्रमा उद्योगको आवश्यकताअनुसार तालिम लिन पाउनेछन्। त्यस्तै, वास्तविक आईटी पूर्वाधार तथा सुरक्षा प्रणालीसँग काम गर्ने व्यावहारिक अनुभवका लागि इन्टर्नशिपको अवसर उपलब्ध गराइने जनाइएको छ।

अध्ययन तथा तालिम पूरा गरेपछि योग्य विद्यार्थीलाई करियर तथा रोजगारीका अवसरसँग जोड्न प्लेसमेन्ट सहयोगसमेत गरिनेछ। विशेषगरी साइबर सुरक्षा र नेटवर्क सुरक्षामा बजारमा विकसित भइरहेका प्रविधि र अभ्यासबारे विद्यार्थीलाई जानकारी तथा सीप प्रदान गर्ने साझेदारीको उद्देश्य रहेको छ।

वन कभर ले साइबर सुरक्षा र नेटवर्क सुरक्षा क्षेत्रमा हासिल गरेको अनुभवमार्फत विद्यार्थीलाई उद्योगको वास्तविक माग र चुनौतीसँग परिचित गराउने अपेक्षा गरिएको छ। यसबाट विद्यार्थीको प्राविधिक क्षमता तथा उद्योगमैत्री सीप विकासमा सहयोग पुग्ने दुवै संस्थाको विश्वास छ।

स्किल स्पार्क ले दक्ष प्रविधि जनशक्ति उत्पादन गर्ने अभियानमा साझेदारी गरेकोमा वन कभर लाई धन्यवाद दिएको छ। दुवै संस्थाले आगामी दिनमा प्राविधिक शिक्षा र रोजगारीको क्षेत्रमा थप सहकार्य गर्ने बताएका छन्।

प्रकाशित: ३० भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...