काठमाडौं ।
स्पेसएक्सको स्टारशिप ४० निकै तीव्र गतिमा यात्रा गर्ने रकेट हो। यसले टेक्सासबाट हिन्द महासागरसम्म हजारौँ माइलको दूरी करिब ६५ मिनेटमा पूरा गरेको थियो। तर यसको घर फर्किने यात्रा भने निकै ढिलो हुने भएको छ। कम्पनीका अनुसार यसलाई टेक्सास फर्काउन केही महिना लाग्नेछ।
स्टारशिप ४०ले जुलाई २४ मा दक्षिण टेक्सासस्थित स्पेसएक्सको स्टारबेसबाट प्रक्षेपण भएको थियो। करिब ६५ मिनेट लामो उडानका क्रममा अन्तरिक्षयानले २० वटा स्टारलिङ्क भी३स्याटेलाइट तैनाथ गरेको थियो। तर यो सबअर्बिटल मिसन थियो।
इन्ग्याजेटका अनुसार स्पेसएक्सको नेटवर्कसँग छोटो समय जोडिएपछि ती स्याटेलाइटहरू तैनाथ भएको करिब २० मिनेटमै पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरेर जलेका थिए।
यो योजनाअनुसार नै भएको थियो, किनकि यो व्यावसायिक स्याटेलाइट प्रक्षेपण थिएन। यसको सट्टा, स्पेसएक्सले पूर्ण रूपमा पुनः प्रयोग गर्न मिल्ने प्रक्षेपण प्रणालीतर्फ अघि बढ्दै गर्दा स्टारशिपको पेलोड तैनाथ गर्ने प्रणालीलगायत विभिन्न पक्षको परीक्षण गर्न यो मिसन डिजाइन गरेको थियो।
तर अघिल्ला स्टारशिप माथिल्लो चरणहरूभन्दा फरक रूपमा स्टारशिप ४० समुद्रमा अवतरण गरेपछि पनि सकुशल रहेको तथ्य भने अप्रत्याशित थियो। यसलाई पुनः प्रयोग गर्न सकिने अवस्थामा नरहेको सम्भावना भए पनि बरामद गरिएको यो अन्तरिक्षयानले इन्जिनियरहरूलाई टेलिमेट्री वा टुक्राटाक्रीबाट अनुमान गर्नुपर्ने अवस्थाको सट्टा प्रत्यक्ष रूपमा विस्तृत अध्ययन गर्ने अवसर दिएको छ।
१७१ फिट लामो यो अन्तरिक्षयानलाई हिन्द महासागरबाट टेक्साससम्म ल्याउनु ठूलो चुनौती हो। पहिलो चरणका रूपमा यसलाई तुलनात्मक रूपमा शान्त पानीमा सारिएको थियो। समुद्रमा करिब २४ दिन बिताएपछि स्पेसएक्स को उद्धार टोलीले स्टारशिप ४०लाई इन्डोनेसियाको दक्षिणमा रहेको अस्ट्रेलियाली भूभाग क्रिशमस आइल्याण्डको तटतर्फ ल्याएको थियो।
करिब ३०० फिट लामो नर्मण्ड रेञ्जर नामक टगले स्टारशिप ४०लाई समुद्रमा अवतरण भएको स्थानबाट तानेर उक्त टापुसम्म ल्याएको थियो। त्यसपछि ७१० फिट लामो फोर्ट नामक यातायात जहाज आएर जिम्मा लिएको थियो।
टोलीले माथिल्लो चरणलाई फोर्टको छेउमा बाँधेर राख्यो। त्यसपछि यातायात जहाजले आफ्नो ब्यालास्ट ट्याङ्कीमा पानी भर्दै कार्गो डेकलाई पानीको सतहमुनि झारेको थियो।
त्यसपछि अन्तरिक्षयानलाई पानीमुनि रहेको डेकमा बनाइएको विशेष क्रेडलसँग मिलाइएको थियो। फोर्टले ब्यालास्टको पानी बाहिर पम्प गरेपछि जहाज बिस्तारै माथि उठ्यो र अन्तरिक्षयानलाई उठाएर आफ्नो स्थानमा राख्यो।
रकेटसँग यस्तो काम गरिएको यो पहिलो पटक हुन सक्ने भए पनि जहाजसम्बन्धी विज्ञ तथा इतिहासका प्राध्यापक साल मर्कग्लियानोले फोर्टजस्ता जहाजहरू अन्य प्रकारका सामानमा यस्ता काम गर्न अभ्यस्त रहेको बताएका छन्।
उनले आफ्नो व्हाट्स गोइङ अन विद शिपिङ? यूट्युब च्यानलमा भने, “फोर्ट जस्ता जहाजहरूले यस्तो काम हरेक दिन गर्छन्। यो जहाज उद्योगमा निकै सामान्य कुरा हो। ठूला वस्तु, बार्ज, क्रेन, जहाज—तपाईंले नाम लिनुभएको जुनसुकै वस्तुका लागि पनि यस्तो गरिन्छ।”
टेक्सासतर्फको यात्रा
अब सबैभन्दा ढिलो चरण सुरु भएको छ। स्पेसएक्सले फोर्टले स्टारशिप ४०लाई टेक्सास फर्काउँदा कुन मार्ग प्रयोग गर्ने भन्नेबारे स्पष्ट जानकारी दिएको छैन। तर कम्पनीले यो यात्रालाई “केही महिनाको यात्रा” भनेको छ।
हालको जहाज ट्र्याकिङले भने यो अनुमानभन्दा पनि लामो समय लाग्न सक्ने संकेत गरेको छ। फोर्ट ले अक्टोबर ८ मा टेक्सासको पोर्ट अफ ब्राउन्सभिल पुग्ने जानकारी प्रसारण गरिरहेको बताइएको छ। मर्कोग्लियानोका अनुसार जहाज पश्चिमतर्फ अघि बढिरहेको देखिएकाले केप अफ गुड होप हुँदै जाने मार्ग सम्भावित हुन सक्छ।
इन्जिनियरहरूले यसअघि नै स्टारशिप ४०को ताप प्रतिरोधी आवरणका नमुना संकलन गरिसकेका छन्। यसबाट माथिल्लो चरणले पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा कसरी काम गर्यो भन्नेबारे “महत्त्वपूर्ण जानकारी” प्राप्त भएको छ। यसबाट प्राप्त तथ्यांकले भविष्यका स्टारशिप डिजाइन र मिसन सुधार गर्न स्पेसएक्स लाई सहयोग गर्ने अपेक्षा गरिएको छ।
स्पेसएक्स को अन्तिम लक्ष्य भने स्टारशिप मिसनलाई हिन्द महासागर हुँदै लामो बाटोबाट फर्काउनुको सट्टा स्टारबेस टेक्सस मुख्यालयमै ल्याएर टावरमार्फत समात्ने बनाउनु हो।
प्रकाशित: २६ भाद्र २०८३, शुक्रबार