बिर्तामोडमा अनलाइन सट्टेबाजी खेलाउने आरोपमा तीन जना पक्राऊ

  • Technology Khabar | २५ भाद्र २०८३, बिहीबार
बिर्तामोडमा अनलाइन सट्टेबाजी खेलाउने आरोपमा तीन जना पक्राऊ

काठमाडौं ।

बिर्तामोड नगरपालिका–४ स्थित एक क्याफे परिसरबाट अनलाइन सट्टेबाजी खेलाउने गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राऊ गरेको छ।

पक्राउ परेकाहरूमा बिर्तामोड नगरपालिका–४ का ४१ वर्षीय किरण कन्दङ्वा, ३८ वर्षीय हेकी श्रेष्ठ र २७ वर्षीय उज्ज्वल गुरागाईं रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। पक्राउ परेकाहरूबाट अनलाइन सट्टेबाजीमा प्रयोग भएको आशंका गरिएका विभिन्न विद्युतीय उपकरण तथा मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद विद्युतीय उपकरणहरूको परीक्षण तथा उनीहरूको विगतका गतिविधिबारे अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू लामो समयदेखि अनलाइन सट्टेबाजीसम्बन्धी खेल सञ्चालनमा संलग्न रहेको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै अनुसन्धान जारी रहेको जनाएको छ। झापामा पछिल्लो समय अनलाइन जुवा तथा सट्टेबाजी नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाही तीव्र बनाएको छ।

प्रकाशित: २५ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार