प्रतिलिपि अधिकार उल्लङ्घन गरेको भन्दै दुई समाचार संस्थाद्वारा ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर

  • Technology Khabar | २२ भाद्र २०८३, सोमबार
प्रतिलिपि अधिकार उल्लङ्घन गरेको भन्दै दुई समाचार संस्थाद्वारा ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर
Person holding a smartphone with opened AI chat in it. User asking chat bot to write a poem. Freepik.com

काठमाडौं ।

सिएटल टाइम्स र न्युजडेले अनुमति नलिई आफ्ना सामग्री प्रयोग गरेको भन्दै दुई एआई कम्पनीविरुद्ध आरोप लगाएका छन्।

सिएटल टाइम्स र न्युजडेले ओपनएआई र माइक्रोसफ्टविरुद्ध संयुक्त रूपमा मुद्दा दायर गरेका छन्। उनीहरूले प्रतिलिपि अधिकार सुरक्षित सामग्री प्रयोग गरी एआई मोडलहरू तालिम दिएको आरोप लगाएका छन्।

शुक्रबार दायर गरिएको मुद्दामा यी दुई समाचार संस्थाले जेनेरेटिभ एआईलाई ‘आफ्नै पुच्छर खाने सर्प’को संज्ञा दिँदै यसले समाचार संस्था र एआई तालिमका लागि प्रयोग गरिएका सामग्रीलाई नै नष्ट गर्न सक्ने बताएका छन्।

मुद्दामा सिएटल टाइम्स र न्युजडेले ओपनएआई र माइक्रोसफ्टले पेवाललाई छल्दै समाचार सामग्री व्यवस्थित रूपमा स्क्र्याप गरेको आरोप लगाएका छन्। समाचार संस्थाहरूका अनुसार एआई मोडल तालिम दिने यस्तो प्रक्रियाले उनीहरूको व्यावसायिक मोडलमा असर पारेको छ।

इन्ग्याजेटका अनुसार एआईबाट तयार गरिएका समाचार सामग्रीको विकल्प प्रयोगकर्तालाई उपलब्ध हुँदा सिएटल टाइम्स र न्युजडेको वेबसाइटमा आउने ट्राफिक तथा डिजिटल विज्ञापनबाट हुने आम्दानी घटेको उनीहरूको दाबी छ।

मुद्दामा एआई मोडलले गलत सूचना सिर्जना गरी ती गलत जानकारीलाई समाचार संस्थाको नाममा जोड्ने तथा समाचार सामग्रीमा रहेका प्रतिलिपि अधिकार व्यवस्थापनसम्बन्धी जानकारी हटाउने गरेको आरोप पनि लगाइएको छ।

सिएटल टाइम्स र न्युजडे एआई कम्पनीविरुद्ध कानुनी लडाइँ सुरु गर्ने बढ्दो संख्याका समाचार संस्थामा थपिएका छन्। सन् २०२३ मा न्युयोर्क टाइम्सले यस्तै कारण देखाउँदै ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर गरेको थियो। त्यसपछि पनि यस्ता कानुनी विवाद जारी छन्। यसै वर्षको सुरुवातमा सीएनएनले प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा पर्प्लेक्सिटीविरुद्ध मुद्दा दायर गरेको थियो।

तर एपी र भक्स मिडियाजस्ता अन्य समाचार संस्थाले फरक बाटो रोजेका छन्। उनीहरूले ओपनएआईसँग साझेदारी गरेका छन्, जसअन्तर्गत एआई कम्पनीले उनीहरूका सामग्रीलाई आफ्ना एआई मोडल तालिम दिन प्रयोग गर्न पाउनेछ।

प्रकाशित: २२ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार