सिस्टममा पहुँचको दूरुपयोग गरेर अवैधरुपमा भिसा जारी गर्ने अध्यागमनका तत्कालीन कम्प्युटर अपरेटर पक्राउ

  • Technology Khabar | १८ भाद्र २०८३, बिहीबार
सिस्टममा पहुँचको दूरुपयोग गरेर अवैधरुपमा भिसा जारी गर्ने अध्यागमनका तत्कालीन कम्प्युटर अपरेटर पक्राउ
फाइल तस्बिर।

काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सिस्टम पहुँच तथा पदको दुरुपयोग गरी अवैधरुपमा भिसा जारी गर्ने अध्यागमन विभागमा कार्यरत तत्कालीन कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ।

सीआईबीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जाहेरीको आधारमा लिखत सम्बन्धी कसूरमा अनुसन्धानको क्रममा विभागमा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर राजीव महतोलाई पक्राउ गरेको हो।

महतोले नेपाली पोर्ट प्रणालीमा रहेको पहुँच तथा पदको दुरुपयोग गरी कानुन बमोजिम भिसा शुल्क समेत प्राप्त नगरी भिसा जारी गरेको, सरकारी राजश्व हिनामिना गरेको तथा सरकारी कागजात किर्ते गरेको अभियोग रहेको छ।

उनले लक्जेम्बर्गका नागरिकले नियमानुसार १ लाख ५९ हजार ४०८ रुपैयाँ (१,२०० अमेरिकी डलर) राजश्व दाखिला गरी प्राप्त गरेको आवासीय भिसा नम्बर E240000001 लाई मिति २०८० फागुन ९ गते (सन् २०२४-०२-२१) मा ट्राभल सेन्ट्रलाइजेसन सिस्टम (Travel Centralization System) मार्फत बदनियतपूर्ण कार्य गरी अमेरिकी नागरिकको नाममा गैरकानुनी रूपमा भिसा सिर्जना र अप्रुभ गरी भिसा जारी गरेका थिए।

रौतहट जिल्ला भलोहिया गा.वि.स. वडा नं.२ स्थायी घर भएका ३० वर्षिय राजीव महतोलाई २०८३ भदौ १७ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई आज २०८३ भदौ ८ गते ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ५ टिकाथलीबाट पक्राउ गरी लिखत सम्बन्धी कसुरमा ब्युरोको हिरासतमा राखी लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको सुचना अधिकारी अनुपम शमशेर जबराले जानकारी दिए।

प्रकाशित: १८ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार