भारतीय कम्पनी गरुडा एरोस्पेसले नेपालमा बाढीपीडितको राहत तथा उद्दारका लागि परिचालन गर्यो ड्रोन

  • Technology Khabar | १८ भाद्र २०८३, बिहीबार
भारतीय कम्पनी गरुडा एरोस्पेसले नेपालमा बाढीपीडितको राहत तथा उद्दारका लागि परिचालन गर्यो ड्रोन

काठमाडौं ।

आईपीओको तयारीमा रहेको भारतको प्रमुख ड्रोन निर्माता कम्पनी गरुडा एरोस्पेसले नेपालमा बाढी राहत तथा आपत्कालीन उद्धार कार्यका लागि ड्रोन परिचालन गरेको छ।

रसुवा जिल्लामा आएको भीषण बाढीका कारण पूर्वाधारमा व्यापक क्षति पुगेको, सडक सम्पर्क, दूरसञ्चार सञ्जाल तथा अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित भएको अवस्थामा कम्पनीले ड्रोन परिचालन गरेको हो।

प्रभावित क्षेत्रमा राहत कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले ड्रोनमार्फत हवाई निरीक्षण, आपत्कालीन उद्धार टोलीलाई सहयोग तथा परम्परागत उद्धार र राहत कार्य गर्न कठिन भएका क्षेत्रमा पहुँच विस्तार गरिने कम्पनीले टेक्नोलोजीखबरलाई पठाएको प्रेस विज्ञप्तीमा भनेको छ।

कम्पनीका अनुसार राहत कार्यअन्तर्गत गरुडा एरोस्पेसले सञ्जीवनी नामक लजिस्टिक्स ड्रोन परिचालन गरेको छ। यी ड्रोनले २५ किलोग्रामसम्म सामान बोक्न सक्छन्। ड्रोनमार्फत बाढी प्रभावित तथा सम्पर्कविहीन समुदायमा खाना, औषधि र पानीलगायत अत्यावश्यक सामग्री एक स्थानबाट अर्को स्थानमा पुर्याइनेछ।

चुनौतीपूर्ण हिमाली भूभागमा राहत कार्यलाई निरन्तरता दिन कम्पनीले आवश्यकताअनुसार ब्याट्री प्रणाली, सञ्चार तथा ग्राउन्ड सपोर्ट उपकरणका साथै प्रमाणित ड्रोन पाइलटसमेत उपलब्ध गराउने उल्लेख छ।

गरुडा एरोस्पेसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अगनीश्वर जयप्रकाशले संकटका बेला समुदायलाई सहयोग गर्न कम्पनी सधैं अघि सर्दै आएको बताएका छन्। नेपाललाई सहयोग गर्न पाउनु सम्मानको विषय भएको भन्दै उनले कठिन समयमा हरेक प्रयास महत्वपूर्ण हुने र दुर्गम क्षेत्रमा आवश्यक सामग्री पुर्याउन ड्रोन तथा कम्पनीका टोलीले सहयोग गर्ने बताए।

गरुडा एरोस्पेसले भारतमा विपद् व्यवस्थापन, आपत्कालीन सेवा तथा मानवीय राहत कार्यमा ड्रोन प्रविधि प्रयोग गर्दै आएको छ। कम्पनीले इसरोसँग सम्बन्धित आपत्कालीन चिकित्सा सामग्री आपूर्ति कार्यमा व्हाइट नाइट ड्रोन प्रयोग गरेको थियो।

त्यस्तै उत्तराखण्डको चमोलीमा भएको हिमताल विस्फोट, गुजरात, आन्ध्र प्रदेश र चेन्नईमा आएको बाढी, राजस्थानमा सलह नियन्त्रण अभियान तथा जम्मु–कश्मीरमा भारतीय सेनासँगको उद्धार कार्यमा पनि कम्पनीले ड्रोन प्रयोग गरेको जनाएको छ।

कोभिड–१९ महामारीका क्रममा गरुडाका ड्रोन पाइलट र ड्रोनलाई चार्टर्ड एयर इण्डिया  विमानमार्फत विभिन्न स्थानमा पुर्‍याएर भारतभर अत्यावश्यक आपत्कालीन सेवा प्रदान गरिएको थियो।

कम्पनीले इसरो को श्रीहरिकोटा केन्द्रमा औषधि तथा खाना पुर्‍याउन लजिस्टिक्स ड्रोन प्रयोग गर्नुका साथै उद्धार कार्यमा सहयोग गर्न लाउडस्पिकर जडित निगरानी ड्रोनसमेत परिचालन गरेको थियो।

सन् २०२४ मा गरुडाका ड्रोनले चेन्नईमा वर्षाका कारण प्रभावित तथा पहुँचविहीन क्षेत्रमा खाना, पानी र औषधि पुर्‍याएका थिए। सन् २०२५ मा कम्पनीको उपभोक्ता ड्रोन द्रोणीले तेलंगानामा सुरुङ भत्किँदा राष्ट्रिय विपद् प्रतिकार्य टोलीलाई सहयोग गरेको थियो।

उक्त ड्रोनले वास्तविक समयको नक्सा तथा भिडियो उपलब्ध गराएर उद्धार टोलीलाई सुरुङभित्र फसेका कामदारको स्थान पहिचान गर्न सहयोग गरेको थियो।

नेपालमा गरिएको पछिल्लो ड्रोन परिचालनले चुनौतीपूर्ण तथा पहुँच पुग्न कठिन क्षेत्रमा छिटो विपद् प्रतिकार्यका लागि ड्रोन प्रविधि प्रयोग गर्ने गरुडा एरोस्पेसको प्रतिबद्धतालाई थप बल दिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १८ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार