न्युयोर्क टाइम्सको कपीराइट मुद्दामा अमेरिकी सरकारले ओपनएआईलाई समर्थन गर्‍यो

  • Technology Khabar | १८ भाद्र २०८३, बिहीबार
न्युयोर्क टाइम्सको कपीराइट मुद्दामा अमेरिकी सरकारले ओपनएआईलाई समर्थन गर्‍यो

काठमाडौं ।

ट्रम्प प्रशासनले न्युयोर्क टाइम्स लगायतका अन्य सञ्चारमाध्यमसँगको कपीराइट विवादमा ओपनएआईको पक्षमा समर्थन जनाएको छ।

च्याटजीपीटी पछाडि रहेका ठूला भाषा मोडल (एलएलएम) तालिमका लागि सञ्चारमाध्यमका सामग्री प्रयोग गर्नु सामान्यतया कपीराइट कानुनअन्तर्गत ‘फेयर युज’ अर्थात् उचित प्रयोग हुने अमेरिकी सरकारले जनाएको छ।

अमेरिकी सरकारले मंगलबार म्यानह्याटनको संघीय अदालतमा दायर गरेको लिखित धारणा कपीराइट भएका सामग्री प्रयोग गरेर एआई तालिम दिने विषयमा सुरु भएका मुद्दाहरूमा अमेरिकी सरकारको पहिलो औपचारिक हस्तक्षेप देखिन्छ।

लेखक, प्रकाशक, संगीत कम्पनी र सञ्चारमाध्यमसहितका कपीराइटधनीहरूले एआई तालिमका विषयमा विभिन्न कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्। अदालतमा पेश गरिएको यस्तो लिखित धारणा कानुनी रूपमा बाध्यकारी नभए पनि यसले मुद्दा लडिरहेका प्रविधि कम्पनीहरूलाई बल पुर्‍याउन सक्ने रोयटर्सले उल्लेख गरेको छ।

“वैज्ञानिक प्रगति र राष्ट्रिय सुरक्षासहितका विषयलाई ध्यानमा राख्दै कपीराइट भएका सामग्रीबाट एलएलएम तालिम दिनु कपीराइट कानुनविपरीत हुन्छ भन्ने कुनै पनि तर्क अदालतले अस्वीकार गरोस् भन्नेमा अमेरिकाको बलियो चासो छ,” अमेरिकी सरकारले अदालतमा बुझाएको पत्रमा भनेको छ।

न्युयोर्क टाइम्सका प्रवक्ताले बुधबार विज्ञप्ति जारी गर्दै ट्रम्प प्रशासन “अनगिन्ती अमेरिकी सर्जकको काम चोरी गर्ने केही ट्रिलियन डलर मूल्यका एआई कम्पनीको पक्षमा उभिएको” आरोप लगाए।

“एआई र सर्जक दुवै अघि बढ्न सक्छन्। एआई कम्पनीहरूले आफ्ना उत्पादन सम्भव बनाउने सामग्रीका लागि उचित रूपमा भुक्तानी गर्नुपर्छ, जसको व्यवस्था कपीराइट कानुनले गरेको छ,” प्रवक्ताले भने।
ओपनएआईका प्रवक्ताले बुधबार अदालतमा दायर गरिएको लिखित धारणाबारे तत्काल प्रतिक्रिया दिएनन्।

अमेरिकी सहायक महान्यायाधिवक्ता स्टान्ली वुडवार्डले सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा भने, “सबै अमेरिकीका लागि राष्ट्रिय सुरक्षा, समृद्धि र आर्थिक अवसर बढाउन एआईमा प्रभुत्व कायम गर्नु महत्वपूर्ण छ।”

“कपीराइट कानुनको स्पष्ट रूपमा गलत बुझाइका कारण हाम्रो देश विदेशी प्रतिस्पर्धीको तुलनामा पछाडि पर्ने अवस्था यो प्रशासनले कहिल्यै आउन दिनेछैन,” उनले भने।

रोयटर्सका अनुसार अमेरिकी वाणिज्यमन्त्री हावर्ड लटनिकले बुधबार उत्तर क्यारोलिनामा भएको जी२० बैठकमा सहभागी अधिकारीहरूलाई पनि आफ्ना देशले ‘फेयर युज’को अवधारणा स्वीकार गर्नुपर्ने बताएका थिए। उनले एआई कम्पनीलाई सर्जकका सामग्रीबाट आफ्ना मोडल तालिम दिन अनुमति दिँदै कलाकारको संरक्षण गर्ने उपाय खोज्नुपर्ने बताएका थिए।

न्युयोर्क टाइम्सले सन् २०२३ मा दायर गरेको मुद्दामा ओपनएआई र उसको सबैभन्दा ठूलो आर्थिक सहयोगी माइक्रोसफ्टले अनुमति नलिई लाखौं समाचार सामग्री प्रयोग गरेर ओपनएआईको लोकप्रिय च्याटबटलाई तालिम दिएको आरोप लगाएको छ।

यो मुद्दा ओपनएआई, एन्थ्रोपिक र मेटा प्लेटफर्म्सजस्ता प्रविधि कम्पनीविरुद्ध कपीराइटधनीहरूले दायर गरेका दर्जनौं मुद्दामध्ये एक हो। कपीराइटधनीहरूले आफ्ना सामग्री एआई प्रणालीलाई तालिम दिन दुरुपयोग गरिएको आरोप लगाउँदै आएका छन्।

यी मुद्दाहरूमा एआई प्रणालीले कपीराइट भएका सामग्री प्रयोग गरेर नयाँ तथा रूपान्तरण गरिएको सामग्री सिर्जना गर्दा त्यसलाई ‘फेयर युज’ मान्न मिल्छ कि मिल्दैन भन्ने विषय मुख्य बन्ने सम्भावना छ। गत वर्ष यस विषयमा विचार गर्ने पहिलो दुई न्यायाधीशले फरक–फरक फैसला दिएका थिए।
अमेरिकी सरकारले मंगलबार प्रविधि कम्पनीहरूसँग सहमति जनाउँदै एआई तालिमलाई “असाधारण रूपमा रूपान्तरणकारी” प्रक्रिया भएको बताएको छ।

“यस मुद्दाको विषयभन्दा बाहिर पनि एलएलएमले विभिन्न क्षेत्रमा अनुसन्धानकर्तालाई महत्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग गरिरहेका छन्,” सरकारले अदालतमा बुझाएको पत्रमा भनेको छ।

“फेयर युजसम्बन्धी सिद्धान्तको गलत बुझाइका कारण एलएलएमको विकासमा रोक लगाइएमा सिर्जनात्मक र वैज्ञानिक प्रगतिमा अवरोध पुग्नेछ र अमेरिकी समृद्धि तथा आर्थिक अवसरमा समेत असर पर्नेछ,” पत्रमा उल्लेख छ।

प्रकाशित: १८ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार