काठमाडौं ।
कैलाली जिल्ला अदालतले न्याय सम्पादनलाई सहज, सरल र नागरिकमैत्री बनाउन सेवा प्रणालीलाई प्रविधिमैत्री र जनकेन्द्रित बनाउँदै लगेको जनाइएको छ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सेवाग्राहीको भावनाअनुसार न्याय सम्पादनलाई सहज बनाउँदै लगिएको र चालु आर्थिक वर्ष २०८३/८४ मा ‘जनमैत्री अदालत’लाई प्राथमिकतामा राखेर काम गर्ने कार्ययोजना बनाइएको जानकारी दिइएको हो।
अदालतका स्रेस्तेदार चेतराज पन्तले सेवाग्राहीलाई सरल र सहज सूचना उपलब्ध गराउने, सहायता कक्षलाई प्रभावकारी बनाउने तथा ज्येष्ठ नागरिक, महिला, बालबालिका र असहाय सेवाग्राहीलाई प्राथमिकता दिने योजना बनाइएको जानकारी बताए।
सेवाग्राहीले मुद्दाको अवस्थाबारे सहज रूपमा जानकारी पाउनसक्ने व्यवस्था मिलाउनुका साथै अदालतका प्रक्रियाबारे जनचेतना अभिवृद्धि गरिने योजना रहेको पन्तले बताए। त्यसका लागि डिजिटल अभिलेख व्यवस्थापन, अनलाइन सूचना प्रणाली र मुद्दाको अवस्थाबारे सेवाग्राहीलाई सहज जानकारी दिने प्रणालीलाई थप प्रभावकारी बनाइने जनाइएको छ।
अदालतले विवाद समाधानमा मेलमिलाप नीतिलाई प्राथमिकतामा राखी सानातिना तथा मेलमिलापबाट समाधान हुनसक्ने विवादलाई प्रभावकारी रूपमा मेलमिलापमा लैजाने र सफल मेलमिलापलाई कार्यान्वयनमा जोड दिने कार्ययोजनामा उल्लेख छ।
यसैगरी, न्यायिक कामकारबाहीमा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिँदै सञ्चारमाध्यममार्फत अदालतका कामकारबाही, उपलब्धि, समस्या तथा आगामी प्राथमिकताबारे नागरिकलाई जानकारी गराउने नीति लिइएको छ। रासस
प्रकाशित: १७ भाद्र २०८३, बुधबार