काठमाडौं ।
इन्स्टाग्रामले सोमबार एआईबाट बनेका प्रोफाइलमा लेबल लगाउने तरिका परिवर्तन गर्ने घोषणा गरेको छ। अब एआईबाट बनेका मानिसको तस्बिर वा पहिचान प्रयोग गर्ने तर त्यसबारे जानकारी नदिने अकाउन्टको पहुँच सीमित गरिनेछ।
प्लेटफर्मले यसअघि प्रयोग गर्दै आएको ‘एआई क्रिएटर’ लेबलको नाम परिवर्तन गरेर ‘एआई-जेनरेटेड प्रोफाइल’ राख्ने जनाएको छ। इन्स्टाग्रामका अनुसार यसले प्रयोगकर्तालाई प्रोफाइलबारे जानकारी बुझ्न सहज हुनेछ। नयाँ लेबलले प्रोफाइलमा देखाइएको व्यक्ति एआई प्रयोग गरेर बनाइएको वा ठूलो मात्रामा एआईबाट सिर्जना गरिएको हो भन्ने जानकारी दिनेछ।
नयाँ नीतिअनुसार एआईबाट बनाइएको प्रोफाइलमा उचित रूपमा लेबल नराख्ने क्रिएटरको पहुँच घट्न सक्छ। तर नयाँ लेबल प्रयोग गर्ने क्रिएटरलाई प्रोफाइलमा एआईबाट बनाइएको व्यक्ति राखेकै कारण सजाय दिइने छैन।
टेकक्रञ्चका अनुसार यो लेबल एआईको हरेक प्रयोगका लागि भने लागू हुने छैन। इन्स्टाग्रामका अनुसार फोटो सम्पादन गर्न, क्याप्सन सुधार्न, ग्राफिक्स बनाउन वा अन्य सिर्जनात्मक सुधारका लागि एआई प्रयोग गर्ने व्यक्तिले ‘एआई-जेनरेटेड प्रोफाइल’ लेबल प्रयोग गर्नुपर्ने छैन।
इन्स्टाग्रामका अनुसार वास्तविक मानिसको प्रोफाइलजस्तो देखिने तर पछि उक्त व्यक्ति पूर्ण रूपमा एआईबाट बनाइएको थाहा हुने प्रोफाइलहरू देखेका प्रयोगकर्ताको गुनासोपछि यो परिवर्तन गरिएको हो।
इन्स्टाग्रामले भनेको छ, “जेनेरेटिभ एआई मानिसहरूले सिर्जना गर्ने सामग्रीको ठूलो हिस्सा बन्दै जाँदा, मानवजस्तो देखिने प्रोफाइल देखेर पछि त्यसमा देखाइएको व्यक्ति एआईबाट बनाइएको थाहा पाउँदा मानिसहरूलाई मन नपरेको हामीले सुनेका छौं। उनीहरू प्रोफाइलमा एआईबाट बनाइएको व्यक्ति राखिएको छ कि छैन भन्ने थाहा पाउन चाहन्छन्।”
सामाजिक सञ्जालमा एआई इन्फ्लुएन्सरको संख्या बढ्दै जाँदा एआईबाट बनाइएको सामग्रीप्रति असन्तुष्टि पनि बढिरहेको समयमा इन्स्टाग्रामले यस्तो घोषणा गरेको हो।
यसै वर्षको सुरुवातमा समलिंगी डेटिङ एप गुसमाथि वायरडले अनुसन्धान गरेको थियो। इन्स्टाग्राममा एआईबाट बनाइएका जस्ता देखिने पुरुष इन्फ्लुएन्सरहरूको नेटवर्कले उक्त एपको प्रचार गरेपछि अनुसन्धान गरिएको थियो। वायरडले एआई इन्फ्लुएन्सर देखिने दुई दर्जनभन्दा बढी अकाउन्ट फेला पारेको थियो। तीमध्ये केहीले सम्भावित प्रयोगकर्तालाई प्रत्यक्ष सन्देश पठाएर एपमा साइन अप गर्न आग्रह गरेको पाइएको थियो।
स्वास्थ्य तथा वेलनेससम्बन्धी सामग्री पनि विशेष चिन्ताको विषय बनेको छ। न्युयोर्क टाइम्सले जुलाईमा सामाजिक सञ्जालमा एआईबाट बनाइएका सयौं डाक्टर, उपचारकर्ता र वेलनेस व्यक्तित्व भेटिएको जनाएको थियो। उनीहरूले प्रयोगकर्तालाई विभिन्न सप्लिमेन्टको प्रचार गर्नुका साथै स्वास्थ्यसम्बन्धी दाबी गरिरहेका थिए।
इन्स्टाग्रामले यो घोषणा गर्नुअघि अन्य व्यक्तिको अनुहार वा पहिचान प्रयोग गरेर तस्बिर बनाउन सकिने एआई टुलका कारण आलोचनाको सामना गरेको थियो। प्रयोगकर्ताले आफ्नो सार्वजनिक इन्स्टाग्राम सामग्री स्पष्ट अनुमति नलिई प्रयोग गरिएको भन्दै आपत्ति जनाएका थिए। त्यसपछि मेटाले उक्त फिचर हटाएको थियो।
गत साता मेटाले बालबालिका र किशोरकिशोरीमाथि फेसबुक र इन्स्टाग्रामको प्रभावसम्बन्धी आरोपलाई लिएर अमेरिकी राज्यहरूसँग १८ अर्ब डलरको सम्झौता गरेको थियो। सम्झौताअन्तर्गत मेटाले फेसबुक र इन्स्टाग्राममा किशोरकिशोरीका लागि दैनिक दुई घण्टाको डिफल्ट प्रयोग सीमा, ‘नाइट मोड’ ब्लक, विद्यालय समयमा नोटिफिकेसन म्युट गर्ने सुविधा र अन्य प्रतिबन्ध लागू गर्ने टेकक्रञ्चले उल्लेख गरेको छ।
प्रकाशित: १७ भाद्र २०८३, बुधबार