डिजिटल वित्तीय सेवा प्रयोग गर्न नेपाल राष्ट्र बैंकको आग्रह

  • Technology Khabar | १६ भाद्र २०८३, मंगलवार
डिजिटल वित्तीय सेवा प्रयोग गर्न नेपाल राष्ट्र बैंकको आग्रह

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेटजस्ता डिजिटल वित्तीय सेवाको सुरक्षित र जिम्मेवार प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

राष्ट्र बैंकका अनुसार डिजिटल वित्तीय सेवाको प्रयोगबाट बैंकमा लामो लाइन बस्नुपर्ने झन्झट कम हुनुका साथै भौतिक रूपमा उपस्थित हुनुपर्ने आवश्यकता घट्ने र कारोबारलाई छिटो, सहज तथा सुरक्षित बनाउन सहयोग पुग्छ। डिजिटल माध्यमबाट रकम स्थानान्तरण, बिल भुक्तानीलगायत विभिन्न वित्तीय कारोबार गर्न सकिन्छ।

तर, डिजिटल वित्तीय सेवा प्रयोग गर्दा सही व्यक्ति र सही खातामा मात्र कारोबार भएको सुनिश्चित गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। रकम स्थानान्तरण गर्नुअघि प्राप्तकर्ताको बैंकको नाम, खातावालाको नाम, खाता नम्बर, मोबाइल नम्बर तथा कारोबारको प्रयोजनलगायत विवरण यकिन गर्न आग्रह गरिएको छ।

राष्ट्र बैंकले कुनै गल्ती वा अनधिकृत कारोबार भएको शंका लागेमा तत्काल सम्बन्धित बैंक, वित्तीय संस्था वा सेवा प्रदायकलाई जानकारी गराई आवश्यक सुरक्षा तथा रोकथामका उपाय अपनाउन पनि आग्रह गरेको छ। पासवर्ड, पिन र ओटीपीजस्ता गोप्य विवरण कसैसँग पनि साझा नगर्न राष्ट्र बैंकले विशेष सचेतना गराउँदै आएको छ।

प्रकाशित: १६ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...