काठमाडौं ।
काठमाडौं महानगरपालिकाले विपद्का समयमा सामाजिक सञ्जालको विवेकपूर्ण प्रयोग गर्न आग्रह गरेको छ। महानगरले विपद्का घटनासँग सम्बन्धित अपुष्ट सूचना, पुराना फोटो तथा भिडियो र अनुमानका आधारमा व्यक्तिको नाम सार्वजनिक नगर्न आग्रह गरेको हो।
महानगरले घाइते व्यक्ति तथा शवको तस्बिर नखिच्न र पुराना विपद्का भिडियो तथा फोटो पुनः पोस्ट नगर्न भनेको छ। त्यस्तै, अपुष्ट घटना तथा मृत्युको संख्या लेखेर हल्ला नफैलाउन पनि आग्रह गरिएको छ।
महानगरले अपुष्ट स्रोत वा अनधिकृत अपिलमा रकम नपठाउन तथा कुनै कन्टेन्ट सेयर वा पोस्ट गर्नुअघि स्रोतको आधिकारिकता जाँच गर्न अनुरोध गरेको छ। झुटा पोस्ट देखिएमा रिपोर्ट गर्न र अनावश्यक तथा एकतर्फी बहस, विवाद र समस्या नफैलाउन पनि महानगरले आग्रह गरेको छ।
विपद्का समयमा आधिकारिक स्रोतबाट सूचना सम्प्रेषण गर्न र हेल्पलाइन तथा राहत केन्द्रको जानकारी सेयर गर्न महानगरले सुझाव दिएको छ। महानगरले विपद्का बेला सामाजिक सञ्जालको जिम्मेवार प्रयोगले गलत सूचना फैलिनबाट रोक्न सहयोग पुग्ने जनाएको छ।
प्रकाशित: १६ भाद्र २०८३, मंगलवार