बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा अवधि दिने

  • Technology Khabar | १४ भाद्र २०८३, आईतवार
बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा अवधि दिने

काठमाडौं ।

हालैको बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसु केवलनेट लिमिटेडले थप ७ दिनको सेवा अवधि उपलब्ध गराउने भएको छ।

भदौ १० गते आएको भीषण बाढीपछि विशेषगरी भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा सुबिसुको इन्टरनेट सेवा प्रभावित भएको थियो। बट्टार, चरौंदी, चौघडा, देवीघाट, धादिङ, हुङ्दीखोला, खाल्टे, खानीखोला, गल्छी, धार्के र मलेखुलगायत क्षेत्रमा सेवा प्रभावित भएको कम्पनीले जनाएको छ।

बाढीका कारण प्रभावित अवधिमा कनेक्सनको म्याद समाप्त भएका ग्राहकलाई थप ७ दिन सेवा अवधि उपलब्ध गराइएको सुबिसुले जनाएको छ। बाढी तथा सेवा अवरोधका कारण ग्राहकलाई असुविधा नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको कम्पनीको भनाइ छ।

सुबिसुका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सुवास अधिकारीले प्रभावित क्षेत्रमा नेटवर्क तथा इन्टरनेट सेवा पुनःस्थापनाको काम निरन्तर भइरहेको बताएका छन्। स्थानीय अवस्था र पहुँचलाई ध्यानमा राख्दै प्राविधिक टोलीहरू सेवा यथाशीघ्र पुनःस्थापना गर्न फिल्डमा खटिएको उनले बताए। पुनःस्थापनाका क्रममा प्राविधिक टोलीको सुरक्षालाई पनि उच्च प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ।

प्रभावित ग्राहकले सेवा तथा पुनःस्थापनासम्बन्धी जानकारीका लागि सुबिसुको ग्राहक सहायता केन्द्रमा सम्पर्क गर्न सक्ने कम्पनीको भनाइ छ।

प्रकाशित: १४ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार