काठमाडौं ।
एप्पलले आईफोन १८ सिरिजको मूल्य बढाउन सक्ने अपेक्षा गरिएको छ। र्याम र न्यान्ड मेमोरी चिपको मूल्य उल्लेख्य रूपमा बढेकाले आईफोन १८ सिरिजको मूल्य बढ्न सक्ने देखिएको हो।
हालैका रिपोर्टअनुसार एप्पलले सुरुमा बढेको लागत आफैंले बेहोर्ने प्रयास गरेको थियो। तर नाफामा पर्ने दबाब बढ्दै गएपछि कम्पनीले यसको केही भार उपभोक्तामाथि सार्न सक्ने देखिएको छ।
टेलिग्राफका अनुसार आईफोन १८ सिरिजका सबै मोडलको मूल्य अघिल्लो पुस्ताको तुलनामा करिब १०० डलरसम्म बढ्न सक्ने रिपोर्टमा उल्लेख छ।
यदि यी अनुमान सही भएमा आईफोन १८ प्रोको सुरुवाती मूल्य करिब १ हजार १९९ डलर हुन सक्छ। अन्य मोडलको मूल्य पनि बढ्नेछ।
बढ्दो मेमोरीको लागतले एप्पललाई मात्र असर गरेको छैन। सामसङ र गुगलसहित अन्य ठूला उत्पादकले पनि यस्तै दबाब सामना गरिरहेका छन् र केही डिभाइसको मूल्य बढाएका छन्।
उल्लेखित स्रोतका अनुसार एप्पल सुरुमा प्रत्यक्ष रूपमा मूल्य बढाउन चाहँदैनथ्यो। तर नाफाको मार्जिन कायम राख्न कठिन हुँदै गएपछि कम्पनीले मूल्य बढाउने विकल्प रोज्न सक्ने देखिएको छ।
यो अवस्थामा कम्पोनेन्टको बढ्दो लागत र प्रतिस्पर्धी मूल्यलाई ध्यानमा राख्दा १०० डलरको मूल्य वृद्धि कम्पनीका लागि तुलनात्मक रूपमा मध्यम विकल्प मानिएको छ।
यदि आधिकारिक रूपमा पुष्टि भएमा आईफोन १८ अहिलेसम्मकै महँगो आईफोन पुस्तामध्ये एक बन्न सक्छ। यद्यपि एप्पलले यसको मूल्य मुख्य प्रतिस्पर्धीको स्तरभित्रै राख्ने प्रयास गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १४ भाद्र २०८३, आईतवार