काठमाडौं ।
यूट्युबले आफ्नो क्रिएटर ई–कमर्स प्लेटफर्मका लागि ठूलो साझेदार थपेको छ। भिडियो प्लेटफर्मका प्रमुख कार्यकारी अधिकृत निल मोहनले आज एक्समा अमेजन अब यूट्युब सपिङ एफिलिएट कार्यक्रममा सहभागी भएको घोषणा गरेका छन्।
यो परिवर्तनसँगै योग्य यूट्युब क्रिएटरहरूले आफ्ना भिडियोबाट अमेजनका उत्पादन सूचीमा लिंक राख्न सक्नेछन्। यूट्युबका भिडियो, सर्ट्स र लाइभस्ट्रिममा अब अमेजनका उत्पादन ट्याग गर्न सकिनेछ। ती लिंकमार्फत कुनै उत्पादन खरिद भएमा क्रिएटरले कमिसन पाउनेछन्।
इन्ग्याजेटका अनुसार अमेजनमा ठूलो कारोबार हुने भएकाले सामग्री क्रिएटरको सिफारिसका आधारमा सामान किन्न चाहने दर्शकका लागि यो उपयोगी हुन सक्छ। साथै, क्रिएटरहरूले थप आम्दानी गर्ने अवसर पनि पाउनेछन्।
मार्चमा यूट्युबले आफ्नो ई–कमर्स प्रणालीमा सहभागी हुन क्रिएटरका लागि आवश्यक सब्सक्राइबरको न्यूनतम सीमा घटाएको थियो। यसले थप अकाउन्टलाई कार्यक्रममा सहभागी भएर आम्दानी गर्न सहज बनाएको थियो।
कम्पनीले उपलब्ध गराएको जानकारीअनुसार १० लाखभन्दा बढी व्यक्ति युट्युब सपिङमा सहभागी भइसकेका छन्। एफिलिएट कार्यक्रम हालै अर्जेन्टिना, मेक्सिको र बेलायतमा पनि सुरु गरिएको छ।
प्रकाशित: १३ भाद्र २०८३, शनिबार