जर्मन कम्पनीहरूले विदेशी गुप्तचर सेवाबाट बढ्दो साइबर खतरा महसुस गरिरहेका छन्: अध्ययन

  • Technology Khabar | १३ भाद्र २०८३, शनिबार
जर्मन कम्पनीहरूले विदेशी गुप्तचर सेवाबाट बढ्दो साइबर खतरा महसुस गरिरहेका छन्: अध्ययन

काठमाडौं ।

जर्मनीका कम्पनीहरूलाई विदेशी गुप्तचर सेवासँग सम्बन्धित हुनसक्ने साइबर आक्रमण बढ्दै गएको डिजिटल उद्योगसम्बन्धी संस्था बिटकमको अध्ययनले बुधबार देखाएको छ।

साइबर आक्रमणमा परेका तीनमध्ये एकभन्दा बढी अर्थात् ३७ प्रतिशत कम्पनीले पछिल्लो १२ महिनामा कम्तीमा एउटा आक्रमणलाई विदेशी गुप्तचर सेवासँग जोडेको बताएका छन्। एक वर्षअघि यस्तो बताउने कम्पनीको संख्या २८ प्रतिशत थियो भने सन् २०२३ मा ७ प्रतिशत मात्र थियो।

यस्ता आक्रमणका मुख्य शंकास्पद स्रोत चीन र रुस रहेका छन् भने इरानको भूमिका पनि बढ्दै गएको देखिएको छ। प्रभावित कम्पनीमध्ये ५२ प्रतिशतले कम्तीमा एउटा आक्रमण चीनबाट र ४९ प्रतिशतले रुसबाट भएको बताएका छन्।

त्यस्तै ९ प्रतिशतले एउटा आक्रमण इरानबाट भएको बताएका छन्। यी तीनै देशले विदेशमा साइबर आक्रमण गरेको आरोप अस्वीकार गर्दै आएका छन्।

जर्मन अधिकारीहरूले पछिल्ला केही सातामा साइबर तथा हाइब्रिड आक्रमणको बढ्दो खतराबारे चेतावनी दिएका छन्।

बिटकमका अनुसार संगठित अपराध अझै पनि साइबर आक्रमणको प्रमुख स्रोत हो। सर्वेक्षणमा सहभागी ६२ प्रतिशत कम्पनीले संगठित अपराधबाट आक्रमण भएको बताएका छन्। तर अपराधी समूह र सरकारी गुप्तचर सेवाबीचको सीमा प्रायः स्पष्ट नहुने बिटकमका अध्यक्ष राल्फ विन्टरगेस्टले बताए।

“गुप्तचर निकायहरूले अपराधी संरचनाको प्रयोग गर्छन्। यसको विपरीत, अपराधीहरूले आफ्ना लक्ष्य राजनीतिक निर्देशनअनुसार छनोट गरेसम्म उनीहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिइन्छ,” उनले भने।

बिटकमका अनुसार डेटा चोरी, औद्योगिक जासुसी र तोडफोडबाट जर्मनीका कम्पनीहरूले वार्षिक कम्तीमा २११ अर्ब युरो बराबरको क्षति व्यहोर्दै आएका छन्। बिटकमले डिजिटल अर्थतन्त्रमा आबद्ध २,२०० भन्दा बढी कम्पनीको प्रतिनिधित्व गर्छ र साइबर सुरक्षा बलियो बनाउने प्रयासलाई समर्थन गर्दै आएको रोयटर्सले उल्लेख गरेको छ।

अध्ययनले एआईको बढ्दो प्रयोगतर्फ पनि संकेत गरेको छ। यसमा र्‍यान्समवेयरजस्ता परम्परागत आक्रमणका घटना घट्दै गएका छन् भने रोबोकल र डीपफेकसहित एआईको प्रयोगबाट हुने आक्रमणले बढी क्षति पुर्‍याउन थालेका छन्।

सर्वेक्षणमा सहभागी १० मध्ये आठ कम्पनीले आक्रमणकारीहरूले एआईको प्रयोग बढाउने अपेक्षा गरेका छन्। “आर्टिफिसियल इन्टेलिजेन्सले आक्रमणको प्रकृतिलाई मौलिक रूपमा परिवर्तन गरिरहेको छ,” विन्टरगेस्टले भने।

साइबर आक्रमणका लागि आफूलाई निकै राम्रोसँग तयार रहेको महसुस गर्ने कम्पनीको संख्या एक वर्षअघिको ५० प्रतिशतबाट घटेर ४३ प्रतिशतमा पुगेको छ। यद्यपि, सफल साइबर आक्रमणले आफ्नो कम्पनीको अस्तित्वमै खतरा पुर्‍याउन सक्ने बताउने कम्पनीको संख्या पनि एक वर्षअघिको ५९ प्रतिशतबाट घटेर ४५ प्रतिशतमा आएको छ।

साइबर सुरक्षामा कम्पनीहरूको खर्च भने परिवर्तन भएको छैन। औसतमा कम्पनीहरूको कुल आईटी बजेटको १८ प्रतिशत आईटी सुरक्षामा खर्च हुने गरेको छ। प्रतिनिधिमूलक अध्ययनका लागि १,००० भन्दा बढी कम्पनीसँग सर्वेक्षण गरिएको थियो।

प्रकाशित: १३ भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार