काठमाडौं ।
नेपाली सेनाले विपद्का बेला सामाजिक सञ्जालमा गलत तथा तथ्यहीन सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ।
नेपाली सेनाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अपिलमा हालको विषम परिस्थितिमा विपद्बाट भएको क्षतिसम्बन्धी गलत तथा तथ्यहीन सूचनाहरू सम्प्रेषण नगर्न सर्वसाधारणलाई अनुरोध गरेको हो।
सेनाले गलत सूचना सामाजिक सञ्जालमा फैलिँदा सर्वसाधारणमा त्रास सिर्जना हुनुका साथै वास्तविक उद्धार तथा राहत कार्यमा समेत बाधा पुग्न सक्ने जनाएको छ।
सेनाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई आफूले प्राप्त गरेका सूचना पहिले नै शेयर भइसकेको भए पनि पुनः शेयर नगर्न, एआईबाट निर्मित सामग्रीलाई हल्लाको भरमा शेयर नगर्न तथा कुनै सामग्री शेयर गर्नुअघि त्यसको स्रोत र सत्यता अनिवार्य जाँच गर्न आग्रह गरेको छ।
त्यस्तै, कसैलाई उद्धारको आवश्यकता परेको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल वा सम्बन्धित आधिकारिक निकायलाई जानकारी गराउन सेनाले अनुरोध गरेको छ।
सेनाले विपद्का समयमा सही र आधिकारिक सूचना प्रवाहलाई प्राथमिकता दिन आग्रह गर्दै ‘सही सूचना दिऔँ, भ्रम फैलाउने कार्य नगरौँ’ भन्ने सन्देश दिएको छ।
विपद्का बेला अपुष्ट सूचना, पुराना तस्वीर तथा भिडियो र एआईबाट सिर्जित सामग्रीलाई वास्तविक घटनाका रूपमा प्रस्तुत गर्दा उद्धार तथा राहतमा खटिएका निकाय र सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्ने भएकाले सामाजिक सञ्जालमा सामग्री सम्प्रेषण गर्दा विशेष सावधानी अपनाउन सेनाले आग्रह गरेको हो।
प्रकाशित: ११ भाद्र २०८३, बिहीबार