काठमाडौं ।
प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीसम्बन्धी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको अनुगमन गर्दा ६ वटा सामग्री आचारसंहिताविपरीत पाइएको जनाएको छ।
काउन्सिलले २०८३ भदौ १० गते गरेको अनुगमनमा विभिन्न माध्यमबाट सम्प्रेषित कुल ५४ वटा सामग्री अध्ययन गरेको थियो। तीमध्ये दर्ता भएका सञ्चारमाध्यमबाट ४६ र दर्ता नभएका माध्यमबाट ८ वटा सामग्री सम्प्रेषण भएको काउन्सिलको विवरणमा उल्लेख छ।
अनुगमनका क्रममा आचारसंहिता प्रतिकूल देखिएका ६ वटा सामग्रीलाई स्थगन वा सम्पादन गर्न टेलिफोन तथा मेसेन्जरमार्फत निर्देशन दिइएको काउन्सिलले जनाएको छ।
काउन्सिलका अनुसार आचारसंहिता प्रतिकूल सामग्रीमध्ये ३ वटा सञ्चारमाध्यम, १ सामाजिक सञ्जाल र १ पत्रकारबाट सम्प्रेषित सामग्री छन्।
विस्तृत विवरणअनुसार ekantipur.com मा बाढीसम्बन्धी सामग्रीमा प्रधानमन्त्रीको नाम गलत राखिएको पाइएको छ। OnlinePatrika.com बाट दुईवटा सामग्रीमा बीभत्स/भ्रमपूर्ण तस्वीर तथा भिडियो राखिएको उल्लेख छ।
त्यस्तै, सिन्धुली न्युजबाट भ्रमपूर्ण भिडियो, janarakshya बाट पुरानो भिडियो र पत्रकार Devika Gharti Magar बाट पुरानो भिडियो सम्प्रेषण गरिएको काउन्सिलको अनुगमन विवरणमा उल्लेख छ। यी सबै सामग्रीका सम्बन्धमा निर्देशन पालना गर्न भनिएको छ।
प्रेस काउन्सिलले विपद्का बेला तथ्य पुष्टि नगरी भ्रमपूर्ण, पुराना वा बीभत्स सामग्री सम्प्रेषण गर्दा पीडित तथा सर्वसाधारणमा थप त्रास र भ्रम सिर्जना हुन सक्ने भन्दै सञ्चारमाध्यम तथा पत्रकारलाई थप संवेदनशील हुन आग्रह गर्दै आएको छ। काउन्सिलले तथ्यगत परीक्षणबिना हतारमा सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत सचेत गराउँदै आएको छ।
भोटेकोशी बाढीले रसुवाको रसुवागढी, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ भने खोज तथा उद्धार कार्य जारी छ।
प्रकाशित: ११ भाद्र २०८३, बिहीबार