काठमाडौं ।
नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको बाढी प्रभावित चार जिल्लामा सञ्चार सेवा निःशुल्क गर्ने भएको छ। धादिङ, नुवाकोट, रसुवा र चितवनका सेवाग्राहीले उद्धार तथा समन्वयका लागि दुई दिनसम्म निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस प्रयोग गर्न पाउने टेलिकमे जनाएको छ।
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन एसएमएसमार्फत अनुरोधसमेत गरेको छ। कम्पनीले सेवाग्राहीलाई सचेत गराउन सचेतनामूलक रिङब्याक टोन पनि बजाइरहेको जनाएको छ।
बाढीका कारण रसुवामा दुईवटा र नुवाकोटमा पाँचवटा गरी प्रारम्भिक रूपमा सातवटा मोबाइल टावरमा क्षति पुगेको नेपाल टेलिकमले जनाएको छ।
त्यस्तै, गल्छीदेखि रसुवा बोर्डरसम्म रहेको फाइबर लिंकमा समेत क्षति पुगेको छ। क्षतिग्रस्त दूरसञ्चार पूर्वाधारको मर्मत तथा सेवा पुनःस्थापनाका लागि नेपाल टेलिकमको प्राविधिक टोली निरन्तर खटिएको कम्पनीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालनमा राख्न तथा उद्धार र समन्वयमा सहजता ल्याउन टेलिकमले क्षतिग्रस्त पूर्वाधारको मर्मतलाई प्राथमिकतामा राखेको छ।
नेपाल टेलिकमबाट आएको पछिल्लो जानकारी अनुसार कम्पनीका विभिन्न २७ साइटहरु डाउन भएका छन् भने धेरै ठाउँमा फाइबर कनेक्शन टुटेको छ।
भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेनाले तीनवटा हेलिकप्टरसहितको टोली नुवाकोट र रसुवा पठाएको छ।
नेपाली सेनाले दुईवटा उद्धार हेलिकप्टर र स्वास्थ्यकर्मीसहितको एमआई–१७ हेलिकप्टर परिचालन गरेको हो। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन हेलिकप्टर टोली परिचालन गरिएको जनाइएको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै धादिङ, नुवाकोट, रसुवा र चितवनका सबै सुरक्षा निकायलाई फिल्डमा परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार, खोज तथा समन्वयका लागि सुरक्षा निकाय सक्रिय भएका छन्।
प्रकाशित: १० भाद्र २०८३, बुधबार