बौद्धिक सम्पत्ति तथा भौगोलिक सङ्केतसम्बन्धी नेपालको नीति तथा कानुनी संरचना सुदृढ गर्न आइआरजीडीडीको प्रतिबद्धता

  • Technology Khabar | १० भाद्र २०८३, बुधबार
बौद्धिक सम्पत्ति तथा भौगोलिक सङ्केतसम्बन्धी नेपालको नीति तथा कानुनी संरचना सुदृढ गर्न आइआरजीडीडीको प्रतिबद्धता

काठमाडौं ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्व कूटनीति संवाद (आइआरजीडीडी) ले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन नेपाल को सहकार्यमा नेपालका लागि बौद्धिक सम्पत्ति तथा भौगोलिक सङ्केतको महत्वसम्बन्धी राष्ट्रिय सांसद नीति संवाद सम्पन्न गरेको छ।

राष्ट्रिय नीतिगत प्राथमिकता, संसदीय नेतृत्व, सरकारी निकाय, प्राविधिक विज्ञता, उत्पादक, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारहरूलाई एउटै मञ्चमा ल्याई व्यावहारिक नीतिगत सुधार र दिगो आर्थिक विकासका लागि सहकार्य अघि बढाउने प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।

कार्यक्रमको उद्घाटन गर्दै आइआरजीडीडीकी अध्यक्ष तथा नेपालका लागि ओमान र स्पेनका पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले नेपालमा भौगोलिक सङ्केतका दृष्टिले अत्यन्तै ठूलो सम्भावना रहेको उल्लेख गर्दै च्याङ्ग्रा पश्मिना, अल्लो, छुर्पी, जुम्ली मार्सी चामल, ठूलो अलैँची, इलामको चिया, मुस्ताङ तथा जुम्लाली स्याउ, पाल्पाली ढाका, जुजु धौ, लोक्ता कागज, रुद्राक्ष तथा हिमाली जडीबुटी लगायतका नेपाली मौलिक उत्पादनको पहिचान र विशिष्टताको संरक्षण गर्नुपर्नेमा जोड दिइन।

डा. ढकालले नेपालले मौलिक उत्पादन उत्पादन गर्ने मात्र नभई तिनको उत्पत्ति, पहिचान र विशिष्टताको कानुनी संरक्षण गर्दै बजार मूल्य अभिवृद्धि गर्न तथा उत्पादक र स्थानीय समुदायले त्यसबाट न्यायोचित र दिगो आर्थिक लाभ प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्ने बताइन्।

उनले आइआरजीडीडीलाई संवाद र सहकार्यको सेतुका रूपमा विकास गर्दै सांसद र विज्ञ, सरकार र उत्पादक तथा निजी क्षेत्रबीच सम्बन्ध स्थापित गर्ने र नेपालको राष्ट्रिय प्राथमिकतालाई अन्तर्राष्ट्रिय अनुभव तथा विज्ञतासँग जोड्ने संस्थागत भूमिकामा समेत जोड दिइन्। संवादबाट प्राप्त निष्कर्षलाई व्यावहारिक, कार्यान्वयनयोग्य तथा नीतिमुखी सिफारिसमा रूपान्तरण गर्नुपर्ने उनको धारणा थियो।

बोधनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको मौलिक पहिचान संरक्षण गर्नुपर्नेमा जोड दिँदै ‘मेड इन नेपाल’ लाई उत्पादनको नाम वा लेबलमा मात्र सीमित नराखी त्यसको उत्पत्ति, मौलिकता र विशिष्टताको प्रभावकारी संरक्षणसँग जोड्नुपर्ने बताए।

भरतबहादुर खड्काले भौगोलिक सङ्केत केवल कानुनी वा प्राविधिक विषय नभई नेपालको पहिचान, भूगोल, परम्परागत ज्ञान, उत्पादकको अधिकार तथा समावेशी आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताए।

आइआरजीडीडीका लागि यो कार्यक्रम नीति संवाद, ज्ञान आदानप्रदान, ट्र्याक १.५ तथा ट्र्याक २ कूटनीति र नेपालको राष्ट्रिय विकासका प्राथमिकतालाई अन्तर्राष्ट्रिय विज्ञता तथा साझेदारीसँग जोड्ने निरन्तर अभियानको अर्को कदम हो।

आइआरजीडीडीले आगामी दिनमा पनि तथ्यमा आधारित नीति संवाद, बहुपक्षीय तथा बहुसरोकारवाला सहभागिता र व्यावहारिक नीतिगत समाधानका लागि प्रभावकारी मञ्च उपलब्ध गराउँदै नेपालको दिगो विकास, आर्थिक समृद्धि तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: १० भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार