काठमाडौं ।
एआईका कारण वेबसाइटमा आउने ट्राफिक घट्दै गएपछि गुगलले बिहीबार यसबाट प्रभावित प्रकाशकलाई नयाँ सुविधा दिएको छ।
अब पाठकले प्रकाशकको वेबसाइटमा रहेको एउटा बटन थिचेर आफूलाई मनपर्ने र गुगल सर्च, डिस्कभर र गुगल न्युजमा अझ बढी देखाउन चाहेको वेबसाइटलाई ‘मनपर्ने स्रोत’ का रूपमा छनोट गर्न सक्नेछन्।
टेक कम्पनी गुगलले अनलाइन प्रकाशकलाई आफ्नै वेबसाइटमा राख्न मिल्ने नयाँ अन्तरक्रियात्मक ‘प्रिफर्ड सोर्सेस’ बटन उपलब्ध गराएको जनाएको छ।
यो सुविधा गुगलले मे महिनामा एआई मोड र एआई ओभरभ्युजसहित आफ्ना एआई सुविधामा ‘प्रिफर्ड सोर्सेस’ सुरु गरेपछि आएको हो। यसअघि यो विकल्प ‘टप स्टोरिज’ मा मात्र उपलब्ध थियो।
टेकक्रञ्चका अनुसार यसको उद्देश्य पाठकलाई आफूले चिनेका र विश्वास गरेका वेबसाइटका लिंक सजिलै भेट्न सहयोग गर्नु हो। पाठकले सामग्री खोज्दा वा गुगलको एआई प्रयोग गरेर कुनै विषयबारे जानकारी लिँदा वा पछिल्लो समाचार पढ्दा आफूले रुचाएका वेबसाइटलाई प्राथमिकता दिन सक्नेछन्।
गुगलले मे महिनामा यो सुविधा सुरु गर्दा विश्वभरका मानिसले यसमार्फत ३ लाख ४५ हजारभन्दा बढी फरक स्रोत छनोट गरिसकेको जनाएको थियो।
कुनै वेबसाइटलाई मनपर्ने प्रकाशकका रूपमा थप्न गुगलको सोर्स प्रिफरेन्सेस पेजमा गएर प्रकाशकको नाम वा वेबसाइट खोज्न सकिन्छ।
प्रिफर्ड सोर्स बन्नुले प्रकाशकको वेबसाइटमा थप ट्राफिक ल्याउन सक्ने गुगलले जनाएको छ। यसअघिका अध्ययनमा उपलब्ध भएको अवस्थामा मानिसले प्रिफर्ड सोर्समा क्लिक गरेर वेबसाइटमा जाने सम्भावना दोब्बर हुने पाइएको कम्पनीले बताएको छ।
यी अतिरिक्त उपकरण उपलब्ध गराएर गुगलले एआईमा आधारित सर्च सुविधाको तीव्र विस्तारका कारण ट्राफिकमा परेको असर कम गर्ने प्रयास गरिरहेको छ।
नयाँ बटनसँगै पाठकले गुगलको एपमा रहेको डिस्कभर फिडलाई आफ्नै शब्दमा आफूअनुकूल बनाउन सक्ने सुविधा पनि चाँडै उपलब्ध हुने गुगलले जनाएको छ। यो सुविधा प्रयोग गर्न पाठकले फिडमा रहेको कुनै पनि तीन डटको मेनुमा थिचेर आफूले बढी वा कम हेर्न चाहेका विषयबारे सामान्य भाषामा गुगललाई बताउन सक्नेछन्। यसले गुगललाई वास्तविक समयमा फिड सुधार गर्न सहयोग गर्नेछ।
एआई प्रयोग गरेर फिडलाई आफूअनुकूल बनाउने सुविधा ल्याउने गुगल मात्र कम्पनी भने होइन। पछिल्ला महिनामा धेरै प्रमुख सामाजिक सञ्जाल एपले प्रयोगकर्तालाई आफूले पाउने सामग्रीको सिफारिसलाई आफ्नो रुचिअनुसार मिलाउन सक्ने प्रयोगकर्ता–नियन्त्रित एल्गोरिदम सुरु गरेका छन्।
डिस्कभर फिडलाई आफूअनुकूल बनाउन सकिने सुविधासँगै एन्ड्रोइड प्रयोगकर्ताले गुगल न्युज एपमा आफ्नो दैनिक अडियो बिफ्रिङलाई पनि आफूअनुकूल बनाउन सक्ने गुगलले जनाएको छ।
प्रकाशित: ६ भाद्र २०८३, शनिबार