डाँफेलिङ्क एकेडेमीको आयोजनामा ‘नेपाल साइबर लिग २०२६’ सञ्चालन हुने

  • Technology Khabar | २७ श्रावण २०८३, बुधबार
डाँफेलिङ्क एकेडेमीको आयोजनामा ‘नेपाल साइबर लिग २०२६’ सञ्चालन हुने

काठमाडौं ।

नेपालमा दक्ष साइबर सुरक्षा जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ ‘नेपाल साइबर लिग (एनसीएल) २०२६’ सञ्चालन हुने भएको छ।

डाँफेलिङ्क एकेडेमीको आयोजनामा सञ्चालन हुन लागेको यस राष्ट्रिय कार्यक्रमअन्तर्गत देशभरका १०० भन्दा बढी कलेजका करिब ५ हजार विद्यार्थीलाई साइबर सुरक्षासम्बन्धी व्यावहारिक, रोजगारमुखी तथा उद्योगमैत्री तालिम प्रदान गरिने आयोजकले जनाएका छन्।

आयोजकका अनुसार सूचना प्रविधिको तीव्र विस्तारसँगै साइबर सुरक्षाको जोखिम बढ्दै गएको छ, जसका कारण दक्ष साइबर सुरक्षा जनशक्तिको माग पनि उत्तिकै रूपमा बढिरहेको छ।

यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले ४५ दिने संरचित अनलाइन कार्यक्रम सञ्चालन गरिने भएको हो जसमा प्रत्यक्ष कक्षा सञ्चालन, प्रयोगात्मक साइबर ल्याब, साप्ताहिक मूल्याङ्कन, राष्ट्रियस्तरको प्रतिस्पर्धा, डिजिटल प्रमाणपत्र, उद्योगका विज्ञहरूबाट मेन्टरसिप, करियर काउन्सेलिङ र इन्टर्नसिपको अवसर समावेश छन्।

कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थीले १ हजार ९९९ दर्ता शुल्क तिर्नुपर्ने आयोजकले जनाएका छन्। यस शुल्कअन्तर्गत विद्यार्थीले सम्पूर्ण प्रशिक्षण, साइबर ल्याब, मूल्याङ्कन, राष्ट्रिय प्रतियोगिता, डिजिटल प्रमाणपत्र लगायत करियर विकाससँग सम्बन्धित विभिन्न सुविधा प्राप्त गर्नेछन्।

कार्यक्रमअन्तर्गत विद्यार्थीले आफ्नो रुचिअनुसार ‘ब्ल्याकबक्स रेड’ (आक्रमणात्मक सुरक्षा) र ‘ब्ल्याकबक्स ब्लु’ (रक्षात्मक सुरक्षा) गरी दुई विशेष ट्र्याकमध्ये एउटा छनोट गर्न पाउनेछन्। इथिकल ह्याकिङ, भीएपीटि र ओडब्ल्युएएसपी, काली लिनक्स, एसओसी संचालन एसआइएम, थ्रेट हन्टिङ र इन्सिडेन्ट रेस्पोन्स लगायतका विषयमा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिनेछ, जसले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको साइबर सुरक्षा क्षेत्रमा आवश्यक सीप हासिल गर्न सघाउने आयोजकको विश्वास छ।

नेपाल साइबर लिग २०२६ ले सिकाइलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्रयोगात्मक अभ्यास, राष्ट्रिय साइबर प्रतियोगिता, डिजिटल प्रमाणपत्र, सीभी तथा लिंक्डइन प्रोफाइल विकास, अन्तर्वार्ता तयारी र उद्योगसँगको प्रत्यक्ष सम्पर्कमार्फत विद्यार्थीलाई रोजगारीका लागि सक्षम बनाउने लक्ष्य राखेको छ। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई छात्रवृत्ति, सम्मान तथा इन्टर्नसिपमा प्राथमिकता दिइनेछ।

कार्यक्रममा सहभागी हुन इच्छुक शैक्षिक संस्थालाई ूअफिसियल क्याम्पस पार्टनरू बन्न आह्वान गरिएको छ। विद्यार्थी सहभागिताको आधारमा साझेदार कलेजलाई ब्रोन्ज, गोल्ड र प्लेटिनम श्रेणीमा वर्गीकरण गरिनेछ। साझेदार संस्थाले राष्ट्रियस्तरको पहिचान, वेबसाइटमा प्रवर्द्धन, कार्यसम्पादन प्रतिवेदन, साइबर कार्यशाला लगायत अन्य विशेष सुविधा प्राप्त गर्नेछन्।

आयोजकका अनुसार यो कार्यक्रम केवल एउटा तालिम कार्यक्रम मात्र नभई नेपालको साइबर सुरक्षा क्षेत्रमा नयाँ आयाम थप्ने राष्ट्रिय अभियान हो। देशका सबै प्रदेश, विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीले पनि समान रूपमा सहभागिता जनाउन सकून् भन्ने उद्देश्यले कार्यक्रमलाई पूर्ण रूपमा अनलाइन माध्यमबाट सञ्चालन गरिने आयोजकले जनाएका छन्।

यसबाट भौगोलिक अवस्थाका कारण अवसरबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै देशभरका विद्यार्थीलाई समान अवसर उपलब्ध गराइने विश्वास आयोजकले लिएका छन्।

यसैगरी कार्यक्रमअन्तर्गत क्याम्पस एम्बासडर कार्यक्रम पनि सञ्चालन गरिनेछ। प्रत्येक साझेदार कलेजबाट छनोट हुने विद्यार्थी एम्बासडरहरूले कार्यक्रम प्रवर्द्धन, जनचेतना अभियान, विद्यार्थी समन्वय तथा कार्यक्रम व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्। उनीहरूले आधिकारिक प्रमाणपत्र, नेतृत्व विकासको अवसर, नेटवर्किङ र इन्टर्नसिपमा प्राथमिकता पाउनेछन्।

यसअघि डाँफेलिङ्कले संयुक्त अरब इमिरेट्स स्थित एरोनेक्ससँगको साझेदारीमा काठमाडौंमा ‘साइबरभिजन २५ – नेपाल च्याप्टर’ सफलतापूर्वक आयोजना गरेको थियो, जसमा नेपालको कर्पोरेट र सरकारी क्षेत्रका वरिष्ठ नेतृत्वलाई एउटै मञ्चमा ल्याइएको थियो।

सोही सफलताको निरन्तरतास्वरूप यस वर्ष ‘नेपाल साइबर लिग २०२६’ सञ्चालन गर्न लागिएको हो। अघिल्लो कार्यक्रमबाट प्राप्त सकारात्मक प्रतिक्रिया र अनुभवलाई आधार बनाउँदै यसपटक अझ व्यापक सहभागिता, व्यावहारिक प्रशिक्षण र राष्ट्रियस्तरको प्रतिस्पर्धामार्फत नेपालको साइबर सुरक्षा क्षेत्रमा नयाँ पुस्ताका दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ।

यस अवसरमा डाँफेलिङ्क एकेडेमीका ग्रुप प्रमुख कार्यकारी अधिकृत सञ्जय बर्धनले नेपालका कलेज तथा शैक्षिक संस्थालाई यस कार्यक्रममा विशेष रूपमा सहभागी हुन आग्रह गर्दै साइबर सुरक्षाको क्षेत्रमा नयाँ पुस्ता तयार पार्ने अभियानमा सहकार्य गर्न आह्वान गरे। उनले नेपाल साइबर लिग २०२६ ले साइबर सुरक्षामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै देशका सबै वर्ग र क्षेत्रका विद्यार्थीलाई समान अवसर उपलब्ध गराउने लक्ष्य रहेको बताए।

प्रकाशित: २७ श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×