‘डिजिटल अधिकारको उपयोग गर्दा सचेत हुन आवश्यक छ’

  • Technology Khabar | २६ श्रावण २०८३, मंगलवार
‘डिजिटल अधिकारको उपयोग गर्दा सचेत हुन आवश्यक छ’

काठमाडौं ।

तीव्र गतिमा विकसित भइरहेको डिजिटल सूचना प्रणालीको सुरक्षित, जिम्मेवार र व्यावसायिक प्रयोगमा पत्रकारहरू सचेत हुनुपर्नेमा जोड दिइएको छ।

डिजिटल राइट्स नेपालको आयोजनामा सोमबारदेखि पोखरामा सुरु भएको ‘डिजिटल अधिकार र प्रेस स्वतन्त्रता’ सम्बन्धी दुईदिने तालिममा डिजिटल प्रविधि र प्लेटफर्मको प्रयोगसँगै पत्रकारको डिजिटल सुरक्षा र अधिकार संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिइएको हो।

तालिमको उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सञ्चारका डिजिटल प्लेटफर्ममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता आवश्यक रहेको बताइन्। उनले डिजिटल अधिकारको उपयोग गर्दा आवश्यक सावधानी अपनाउन नसके त्यसले गम्भीर जोखिम निम्त्याउन सक्नेतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिइन्।
अध्यक्ष शर्माले भनिन, “सरकारले अहिलेको वर्षलाई कानुन बनाउने वर्ष भनेको छ । वर्तमान संविधान जारी भएपछि सञ्चारमाध्यमसम्बन्धी कानुन बन्ने क्रममा छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले ग्यारेन्टी गरेकाले डिजिटल प्लेटफर्मको प्रयोग गर्दा स्वतन्त्रतासँगै सुरक्षित बनाउन जरुरी छ। यसो गरे मात्र नागरिकको अधिकार संरक्षण गर्न सक्छौँ ।” प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सङ्कुचन हुन नदिन तथा नागरिकको अधिकार सुनिश्चित गर्न महासङ्घले निरन्तर काम गरिरहेको उनले बताइन।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र कास्की शाखाका अध्यक्ष माधव बरालले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट गलत सूचना र भ्रामक सामग्री फैलिन नदिन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताए।
डिजिटल राइट्स नेपालका सन्तोष सिग्देलले डिजिटल अधिकार संरक्षणका लागि डिजिटल सुरक्षा महत्त्वपूर्ण विषय भएकाले संस्थाले सन् २०२० देखि डिजिटल सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए।
दुई दिनसम्म सञ्चालन हुने तालिममा गण्डकी प्रदेशका २२ जना सञ्चारकर्मीको सहभागिता रहेको छ। तालिममा डिजिटल अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक, गोपनीयता, डिजिटल सुरक्षा तथा साइबर सुरक्षालगायत विषयमा ज्ञान र सीप प्रदान गरिने आयोजकले जनाएको छ। रासस

प्रकाशित: २६ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...