स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका संचालकहरुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

  • Technology Khabar | २१ श्रावण २०८३, बिहीबार
स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका संचालकहरुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अध्यक्षसहित अन्य सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुरोधमा जिल्ला अदालत काठमाडौंले सञ्चालक समितिका सबै सदस्यहरुलाई पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि नेपाल राष्ट्र बैंकले सबै सञ्चालकको बैंक खातासमेत रोक्का गरेको थियो ।

सीआईबीले सरकारको नाममा आएको स्मार्ट टेलिकमको सो बैंकले गैरकानूनी रुपमा लिलाम बिक्री गरेको अरोपमा अनुसन्धान गर्दै आएको छ। सोही विषयमा थप अनुसन्धान गर्न भन्दै सीआईबीले पक्राउ पुर्जी लिएको थियो।

ब्युरोको उक्त कार्य र जिल्ला अदालतको आदेशविरुद्ध बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा अन्य सञ्चालकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए।

सोही रिटउपर बिहीबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले पक्राऊ नगर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

उक्त मुद्दामा अदालतले छलफलका लागि यहि २५ गतेको तारेख दिएको छ।

अदालतले उक्त अवधिसम्म कसैलाई पक्राउ नगर्न आदेश दिएको छ।

उक्त प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारीलाई समेत सीआईबीले पक्राउ गरि छानबिन गरिरहेको छ।

प्रकाशित: २१ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार