मेक्सिकन सोशल मिडिया इन्फ्लुएन्सरको गोली हानी हत्या

  • Technology Khabar | २१ श्रावण २०८३, बिहीबार
मेक्सिकन सोशल मिडिया इन्फ्लुएन्सरको गोली हानी हत्या

काठमाडौं ।

मेक्सिकोका एक सामाजिक सञ्जाल इन्फ्लुएन्सरको दिउँसै सडकमा लाइभस्ट्रिम गरिरहेका बेला गोली हानी हत्या गरिएको छ।

हास्य भिडियोमार्फत टिकटकमा ६ लाख फलोअर बनाएका सेजार गास्टेलुम मंगलबार उत्तरपश्चिमी सहर कुलियाकानमा रहेको एक फास्ट फुड रेस्टुरेन्ट बाहिर अर्को सामाजिक सञ्जाल प्लेटफर्ममा लाइभस्ट्रिम गरिरहेका थिए। त्यसक्रममा उनको हत्या गरिएको हो।

मिरर डट सीओ डट यूकेका अनुसार हेल्मेट लगाएका दुई जना मोटरसाइकलमा आएर गास्टेलुम र उनका साथीहरूमाथि गोली चलाएका थिए। लाइभस्ट्रिमको रेकर्डिङमा मोटरसाइकल चालकले गास्टेलुमको टाउकोतर्फ सिधै गोली चलाएको देखिन्छ।

कुलियाकान मेक्सिकोमा लागूऔषध तस्कर समूहहरूको गतिविधिको प्रमुख केन्द्र हो। यो सिनालोआ राज्यको राजधानी पनि हो, जहाँ सिनालोआ कार्टेलका प्रतिस्पर्धी समूहबीचको द्वन्द्वका कारण हिंसा बढ्दै गएको छ।

सिनालोआ राज्यका एक सुरक्षा अधिकारीले गास्टेलुमको मृत्यु भएको पुष्टि गर्दै ठूलो सुरक्षा अभियान सुरु गरिएको जानकारी दिएका छन्।

सन् २०२४ मा पूर्व कार्टेल नेता जोआक्विन “एल चापो” गुजमानका छोरामध्ये एकले सिनालोआ कार्टेलका नेता इस्माइल “एल मायो” जाम्बाडालाई अपहरण गरेपछि सिनालोआमा हिंसा चर्किएको थियो।

पछि जाम्बाडालाई अमेरिकी अधिकारीको जिम्मा लगाइएको थियो र उनको समूह तथा गुजमानका छोराहरूको नेतृत्वमा रहेको समूहबीच युद्ध सुरु भएको थियो।

हिंसा बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिनालोआ कार्टेलसहित केही समूहलाई विदेशी आतंकवादी संगठनको सूचीमा राखेका थिए।

इन्फ्लुएन्सर सेजार गास्टेलुमको हत्या सन् २०२५ मा मेक्सिकी ब्यूटी इन्फ्लुएन्सर भालेरिया मार्केजको हत्यासँग मिल्दोजुल्दो देखिएको छ। जालिस्को राज्यको जापोपानमा आफूले काम गर्ने सैलुनमा टिकटक लाइभस्ट्रिम गरिरहेका बेला उनीमाथि गोली प्रहार गरी हत्या गरिएको थियो।

अभियोजन पक्षका अनुसार २३ वर्षीया मार्केजको हत्या एक व्यक्ति सैलुनभित्र प्रवेश गरी गोली चलाएपछि भएको थियो।

जुलाईमा मेक्सिकी अधिकारीहरूले जालिस्कोमा रेमोन एन्जेल अल्भारेज आयालालाई पक्राउ गरेको घोषणा गरेका थिए। “एल आर–१” नामले चिनिने उनलाई सुरक्षा मन्त्री ओमार गार्सिया हारफुचले जालिस्को न्यू जेनेरेसन कार्टेल (CJNG) सँग सम्बन्धित आपराधिक समूहका नेताका रूपमा चिनाएका थिए।

अधिकारीहरूले अल्भारेज आयालालाई मार्केजको हत्यासँग जोड्दै सन् २०२५ नोभेम्बरमा उरुआपानका मेयर कार्लोस मान्जोको हत्या गराउन आदेश दिने र त्यसका लागि आर्थिक सहयोग गरेको आरोप लगाएका छन्।

प्रकाशित: २१ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...