काठमाडौं मोडल कलेजमा ‘एलजी सिप शिक्षा’ प्राविधिक तालिमको अनुगमन तथा मूल्याङ्कन सम्पन्न

  • Technology Khabar | २१ श्रावण २०८३, बिहीबार
काठमाडौं मोडल कलेजमा ‘एलजी सिप शिक्षा’ प्राविधिक तालिमको अनुगमन तथा मूल्याङ्कन सम्पन्न

काठमाडौं ।

एलजी इलेक्ट्रोनिक्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित ‘एलजी सिप शिक्षा’ एयर कन्डिसनर तथा रेफ्रिजेरेटर प्राविधिक तालिम कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन भ्रमण काठमाडौं मोडल कलेजमा सम्पन्न गरेको छ।

४८ दिने व्यावसायिक तालिम कार्यक्रम काठमाडौं महानगरपालिका, काठमाडौं मोडल कलेज, चौधरी फाउन्डेसन (सीजी) तथा एलजी इलेक्ट्रोनिक्सको सहकार्यमा सञ्चालन भएको हो।

कार्यक्रमको मुख्य उद्देश्य सहभागीहरूलाई उद्योगको आवश्यकता अनुरूपको सैद्धान्तिक ज्ञान र व्यवहारिक सीप प्रदान गरी उनीहरूको रोजगारी क्षमता अभिवृद्धि गर्नुका साथै नेपालको प्राविधिक तथा सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु रहेको कम्पनीले जनाएको छ।

एयर कन्डिसनर तथा रेफ्रिजेरेटर मर्मतसम्बन्धी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन भइरहेको यस तालिममा सैद्धान्तिक अध्ययनसँगै प्रयोगात्मक अभ्यासलाई विशेष प्राथमिकता दिइएको छ।

अनुगमन तथा मूल्याङ्कन भ्रमणको उद्देश्य तालिमको समग्र प्रगति समीक्षा गर्नु, कक्षाकोठामा भइरहेका प्रशिक्षण गतिविधिको अवलोकन गर्नु, प्रशिक्षार्थीसँग अन्तरक्रिया गर्नु तथा कार्यक्रमको प्रभावकारिताको मूल्याङ्कन गर्नु रहेको थियो।

कार्यक्रममा काठमाडौं महानगरपालिका, काठमाडौं मोडल कलेज, चौधरी फाउन्डेसन तथा एलजी इलेक्ट्रोनिक्सका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा एलजीईएसआई बीडीबीका प्रबन्ध निर्देशक जेराल्ड सुगो चुन तथा चौधरी फाउन्डेसनका अध्यक्ष एवं सीजी कर्पोरेसन ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी, काठमाडौं मोडल कलेजका कलेज प्रमुख सुरेन्द्र सुवेदी लगायतको विशेष उपस्थिति रहेको थियो।

अतिथिहरूले तालिम सञ्चालन भइरहेका कक्षाकोठाको अवलोकन गर्दै प्रशिक्षार्थीसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए। औपचारिक सत्रको सुरुवात काठमाडौं मोडल कलेजका कलेज प्रमुख सुवेदीले यस्ता कार्यक्रममा काठमाडौं मोडेल कलेज सधै सहकार्य गर्न तयार रहेको अवगत गराएका थिए।

अनुभव आदानप्रदान सत्रमा प्रशिक्षार्थीहरूले तालिममार्फत आफूहरूले हासिल गरेको प्राविधिक ज्ञान, व्यवहारिक दक्षता तथा आत्मविश्वासले व्यावसायिक जीवनमा अघि बढ्न उल्लेखनीय सहयोग पुगेको अनुभव साझा गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिका, एलजी इलेक्ट्रोनिक्स तथा चौधरी फाउन्डेसनका प्रतिनिधिहरूले दक्ष जनशक्ति अभाव न्यूनीकरण, रोजगारीका अवसर सिर्जना तथा उद्योगको आवश्यकता अनुरूपका प्राविधिक जनशक्ति उत्पादन गर्न स्थानीय सरकार, शैक्षिक संस्था र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।

प्रकाशित: २१ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...