काठमाडौं ।
ताइवानको सर्भर निर्माता तथा एनभिडियाको आपूर्तिकर्ता विस्ट्रोनले एआई सर्भरको माग अझै पनि निकै बलियो रहेको जनाएको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय नतिजाअनुसार यसको खुद नाफा वार्षिक रूपमा १२८ प्रतिशतले बढेको छ।
कम्पनीको दोस्रो त्रैमासिक खुद नाफा १४.८२७ अर्ब ताइवानी डलर (करिब ४५७.९ मिलियन अमेरिकी डलर) पुगेको छ। यस अवधिमा राजस्व ६४ प्रतिशतले बढेर ८९५.४४ अर्ब ताइवानी डलर पुगेको छ।
रोयटर्सका अनुसार विस्ट्रोनका प्रमुख कार्यकारी अधिकृत जेफ लिनले क्लाउड सेवा प्रदायक र उद्यम ग्राहक दुवैतर्फबाट एआई सर्भरको माग अत्यन्तै बलियो रहेको तथा माग अझै पनि आपूर्तिभन्दा बढी रहेको बताए।
कम्पनीले ताइवानस्थित उत्पादन क्षमता विस्तारका लागि थप १०.५ अर्ब ताइवानी डलर बराबरको पूँजीगत खर्च स्वीकृत गरेको जनाएको छ।
साथै, कम्पनीको सञ्चालक समितिले ग्लोबल डिपोजिटरी रिसिप्ट (जीडीआर) मार्फत अधिकतम २५ करोड नयाँ साधारण सेयर जारी गर्न सम्बन्धित नियामक निकायसँग अनुमति माग्ने निर्णय पनि गरेको छ।
विस्ट्रोनले जुलाईमा अमेरिकाको टेक्सासमा ७० करोड अमेरिकी डलर लागतको उत्पादन केन्द्र सञ्चालनमा ल्याएको थियो। उक्त केन्द्रमा एनभिडियाका नयाँ एआई प्रणाली उत्पादन गरिनेछ।
वित्तीय नतिजा सार्वजनिक हुनुअघि मंगलबार विस्ट्रोनको सेयर मूल्य ४.८ प्रतिशतले बढेर बन्द भएको थियो। यस वर्ष हालसम्म कम्पनीको सेयर मूल्य ३० प्रतिशतले बढेको छ।
प्रकाशित: २० श्रावण २०८३, बुधबार