अमेरिकाले दियो ४.४ गिगाहर्ज स्पेक्ट्रम ब्यान्डको सम्भावना अध्ययन गर्ने अनुमति

  • Technology Khabar | १९ श्रावण २०८३, मंगलवार
अमेरिकाले दियो ४.४ गिगाहर्ज स्पेक्ट्रम ब्यान्डको सम्भावना अध्ययन गर्ने अनुमति
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

अमेरिकी वाणिज्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय दूरसञ्चार तथा सूचना प्रशासन (एनटीआईए) ले ४.४ गिगाहर्ज स्पेक्ट्रम ब्यान्डलाई पूर्ण क्षमताको व्यावसायिक लाइसेन्स प्राप्त सेवाका लागि प्रयोग गर्न सकिने सम्भावना अध्ययन गर्ने योजना स्वीकृत भएको जनाएको छ।

यो अध्ययन योजना अमेरिकी कंग्रेसमा पठाइएको छ। एनटीआईएका अनुसार यसको उद्देश्य अमेरिकाको ६जी नेतृत्वलाई अगाडि बढाउनु हो। यससँगै स्पेक्ट्रम पुनःप्रयोगसम्बन्धी चारवटा ब्यान्डको अध्ययन एकैसाथ अघि बढ्नेछ।

टेलिकम्स डटकमका अनुसार गत वर्ष एनटीआईएलाई पाँच वर्षभित्र संघीय प्रयोगमा रहेको ५०० मेगाहर्ज स्पेक्ट्रम व्यावसायिक प्रयोगका लागि पहिचान गर्ने जिम्मेवारी दिइएको थियो। साथै ७.१२५ देखि ७.४ गिगाहर्ज ब्यान्डको अध्ययन १२ महिनाभित्र पूरा गर्न पनि निर्देशन दिइएको थियो। एनटीआईएका अनुसार यी कदम अमेरिकालाई ६जी क्षेत्रमा अग्रणी बनाउन महत्वपूर्ण छन्।

संघीय निकायहरूले स्पेक्ट्रम स्थानान्तरणसँग सम्बन्धित खर्च व्यवस्थापन गर्न स्पेक्ट्रम रिलोकेसन फन्ड (एसआरएफ) प्रयोग गर्नेछन्। एनटीआईएका अनुसार प्रस्तावित योजनाले महत्वपूर्ण संघीय सेवामा असर नपर्ने गरी पुनःप्रयोग गर्न सकिने स्पेक्ट्रम पहिचानका लागि आवश्यक प्राविधिक अध्ययनको स्पष्ट कार्ययोजना तय गरेको छ।

हाल १.६ गिगाहर्ज, २.७ गिगाहर्ज, ४.४ गिगाहर्ज र ७ गिगाहर्ज ब्यान्डको अध्ययन गर्ने योजना विचाराधीन छ। योजना स्वीकृत भएपछि वाणिज्य तथा विनियोजन समितिले ६० दिनसम्म समीक्षा गर्नेछ। त्यसपछि व्यवस्थापन तथा बजेट कार्यालय (ओएमबी) ले आवश्यक बजेट उपलब्ध गराउन सक्नेछ।

एनटीआईएका अनुसार ४.४ गिगाहर्ज ब्यान्डको समीक्षा अवधि पूरा भएपछि चारवटै ब्यान्डको अध्ययन एकैसाथ सुरु हुनेछ, जुन संघीय स्पेक्ट्रम पुनःप्रयोगका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो अध्ययन हुनेछ।

एनटीआईएका प्रशासक तथा सञ्चार तथा सूचना मामिला सहायक सचिव एरियल रोथले अमेरिकी कंग्रेस र राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय स्पेक्ट्रमलाई व्यावसायिक प्रयोगका लागि छिटो पुनःवितरण गर्न र ६जीमा अमेरिकालाई विश्वकै अग्रणी बनाउन निर्देशन दिएको बताइन्।

उनले ४.४ गिगाहर्जसम्बन्धी घोषणासँगै अध्ययनका लागि तय गरिएका चारवटै ब्यान्ड एकैसाथ अघि बढ्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गरिन्।

यसअघि अप्रिलमा एनटीआईएले आपतकालीन सेवा नेटवर्क फर्स्टनेटका सेवा प्रदायक एटी एन्ड टीसँग सम्झौता गरेको थियो। उक्त सम्झौताले अमेरिकी सरकारलाई करिब १ अर्ब डलर बराबरको लागत बचत हुने बताइएको थियो।

सो बचत रकम फर्स्टनेटको राष्ट्रिय सार्वजनिक सुरक्षा ब्रडब्यान्ड नेटवर्कमा थप लगानी गर्न प्रयोग गरिनेछ। एटी एन्ड टीले पनि नेटवर्क विस्तार र सेवा सुधारका लागि थप १ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: १९ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार