जापानको एनटीटी डोकोमोद्वारा आफ्नो नेटवर्कका लागि एरिक्सनको आरएएन कम्प्युट प्लेटफर्म छनोट

  • Technology Khabar | १९ श्रावण २०८३, मंगलवार
जापानको एनटीटी डोकोमोद्वारा आफ्नो नेटवर्कका लागि एरिक्सनको आरएएन कम्प्युट प्लेटफर्म छनोट

काठमाडौं ।

जापानको दूरसञ्चार कम्पनी एनटीटी डोकोमोले आफ्नो नेटवर्कका लागि एरिक्सनको आरएएन कम्प्युट प्लेटफर्म छनोट गरेको छ। यो प्लेटफर्म कम्पनीको फाइभजी नेटवर्कमा पनि प्रयोग गरिनेछ।

एरिक्सनका अनुसार आरएएन कम्प्युट प्लेटफर्म विशेष रूपमा फोरजी, फाइभजी, फाइभजी एडभान्स्ड तथा एआई र मेसिन लर्निङमा आधारित आरएएन कार्यभारका लागि अनुकूल बनाइएको हो।

यसको तैनाथी गत महिना सुरु भइसकेको छ। यसले नेटवर्कको गुणस्तर सुधार्नुका साथै भविष्यमा एआई–आधारित र प्रोग्राम गर्न सकिने नेटवर्क विकासमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्लेटफर्ममा एरिक्सन सिलिकन प्रविधि समावेश गरिएको छ। कम्पनीका अनुसार यसले अघिल्लो पुस्ताका बेसब्यान्ड उत्पादनको तुलनामा आधाभन्दा कम ऊर्जा खपत गर्दै दुई गुणासम्म क्षमता उपलब्ध गराउन सक्छ। यसले केन्द्रीयकृत रेडियो एक्सेस नेटवर्क (सी–आरएएन) मा सञ्चालन खर्च घटाउन र साइट सञ्चालनलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने टेलिकम्स डटकमले उल्लेख गरेको छ।

यो परियोजना गत वर्षको अन्त्यमा एरिक्सनले डोकोमोको फाइभजी नेटवर्कका लागि ४.५ गिगाहर्ज म्यासिभ मिमो रेडियो एआईआर ३२५५ उपकरण उपलब्ध गराएको परियोजनापछि आएको हो।

कम्पनीका अनुसार नयाँ आरएएन कम्प्युट प्लेटफर्मले डोकोमोको भविष्यको नेटवर्क लक्ष्य हासिल गर्न थप सहयोग गर्नेछ। दुवै कम्पनीले एआईका कारण बढ्ने डाटा ट्राफिकलाई ध्यानमा राख्दै आगामी दिनमा नेटवर्क संरचनासम्बन्धी परियोजनामा सहकार्य जारी राख्ने योजना बनाएका छन्।

एनटीटी डोकोमोका वरिष्ठ उपाध्यक्ष तथा रेडियो एक्सेस नेटवर्क डिजाइन विभागका महाप्रबन्धक मसाफुमी मासुदाले बढ्दो ट्राफिक माग पूरा गर्दै सञ्चार सेवाको गुणस्तर कायम राख्न र सुधार गर्न कम्पनीले नेटवर्क प्रशोधन क्षमता विस्तार गरिरहेको बताए।

उनले एरिक्सनको आरएएन कम्प्युट प्लेटफर्मले उच्च प्रशोधन क्षमतामार्फत कम्पनीको पूर्वाधार रणनीतिलाई मजबुत बनाउने र भविष्यमा एआईको प्रयोगलाई ध्यानमा राख्दै लचिलो नेटवर्क निर्माणमा सहयोग गर्ने बताए।

एरिक्सन जापानकी बोर्ड निर्देशक तथा एनटीटी समूह ग्राहक इकाइ प्रमुख युकिको सातोले डोकोमोसँगको सहकार्यमार्फत बजारकै उन्नत र प्रभावकारी आरएएन कम्प्युट प्रविधि उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरिन्। उनका अनुसार यो प्लेटफर्मले नेटवर्क ट्राफिक व्यवस्थापन मात्र नभई वातावरणीय दिगोपन र सञ्चालन खर्च घटाउन पनि सहयोग पुर्‍याउनेछ।

यसअघि यस वर्षको सुरुआतमा डोकोमोले एरिक्सनको नेतृत्वमा रहेको अडुना पहलसँग साझेदारी गरेको थियो। यसमार्फत दूरसञ्चार कम्पनीका एपीआईहरूलाई एउटै बजारमार्फत विश्वभरका डेभलपर र व्यवसायलाई उपलब्ध गराइनेछ।

प्रारम्भमा नम्बर प्रमाणीकरण र सिम स्वाप पत्ता लगाउने एपीआईमार्फत सुरक्षा सम्बन्धी सेवा उपलब्ध गराइनेछ भने भविष्यमा अन्य सेवा पनि थप विस्तार गरिने योजना रहेको छ।

प्रकाशित: १९ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार