काठमाडौं ।
अल्फाबेट अन्तर्गतको गुगलले शुक्रबार आफूले गुगल अर्थमा एक दिनअघि मात्र सुरु गरेको एआईबाट तस्बिर बनाउने सुविधा फिर्ता लिएको जनाएको छ। प्रयोगकर्ताहरूले कम्पनीको नीति उल्लङ्घन गरेको जस्तो देखिने तस्बिरहरू साझा गरेपछि यस्तो निर्णय गरिएको हो।
रोयटर्सका अनुसार गुगलको नानो बनाना २ एआई मोडेलमा आधारित यो सुविधाले प्रयोगकर्तालाई संसारको कुनै पनि स्थानको नाम लेखेर गुगल अर्थका उपग्रह, हवाई तथा त्रिआयामिक (थ्रीडी ) तस्बिरको आधारमा वास्तविकजस्तै देखिने तस्बिर बनाउन दिँथ्यो। तर वास्तविक स्मारक र चिनारी स्थानका तस्बिरमाथि नक्कली दृश्य बनाउन सकिने भएकाले गलत सूचना फैलिन सक्ने भन्दै यसको आलोचना भएको थियो।
“हामीले भू–स्थानसम्बन्धी क्षेत्रमा काम गर्ने धेरैले यो सुविधा उपयोगी कामका लागि प्रयोग गरेको देखेका छौँ। तर हाम्रो नीति उल्लङ्घन गरेको जस्तो देखिने एआईबाट बनाइएका तस्बिरका स्क्रिनसट पनि मानिसहरूले साझा गरेको देख्यौँ,” गुगलले एक्समा लेखेको छ। कम्पनीले अझ बलियो सुरक्षा व्यवस्था तयार पार्दासम्म यो सुविधा रोकिएको पनि जनाएको छ।
गुगलले कस्ता प्रकारका तस्बिरले नीति उल्लङ्घन गरे भन्ने खुलाएको छैन। कम्पनीका अनुसार ती तस्बिरहरू गुगल अर्थको मुख्य सेवामा देखिँदैनथे र एआईबाट बनाइएका हुन् भनेर चिन्ह पनि लगाइएको थियो।
प्रविधि कम्पनीहरूले आफ्ना सेवामा एआई सुविधा थप्ने क्रम बढाइरहेका छन्। तर प्रयोगकर्ताको दुरुपयोग, गलत सूचना र नीतिसम्बन्धी चिन्ताका कारण यस्ता सुविधा परिवर्तन गर्ने, सीमित गर्ने वा केही समयका लागि बन्द गर्ने अवस्था पनि आएको छ।
यसै महिनाको सुरुमा मेटाले पनि सार्वजनिक इन्स्टाग्राम खाताको आधारमा तस्बिर बनाउन मिल्ने ‘म्युज इमेज’ नामको एआई सुविधा बन्द गरेको थियो। गोपनीयतासम्बन्धी चिन्ता र हलिउडको एक श्रमिक सङ्गठनसहित धेरैको आलोचनापछि कम्पनीले उक्त सुविधा हटाएको थियो।
प्रकाशित: १७ श्रावण २०८३, आईतवार