स्पेसएक्सको रकेट अर्को साता चन्द्रमामा ठोक्किने, वैज्ञानिकहरू परिणामबारे अझै निश्चित छैनन्

  • Technology Khabar | १७ श्रावण २०८३, आईतवार
स्पेसएक्सको रकेट अर्को साता चन्द्रमामा ठोक्किने, वैज्ञानिकहरू परिणामबारे अझै निश्चित छैनन्
सांकेतिक फाइल तस्बिर: स्पेसएक्स/इन्ग्याजेट

काठमाडौं ।

वैज्ञानिकहरूका अनुसार आगामी अगस्ट ५ मा स्पेसएक्सको प्रयोग भइसकेको फाल्कन–९ रकेटको माथिल्लो भाग चन्द्रमामा उच्च गतिमा ठोक्किनेछ। यस घटनाले चन्द्रमाको सतहमा व्यापक धुलो उडाउने अपेक्षा गरिएको छ।

यो रकेटको भाग सन् २०२५ जनवरी १५ मा फायरफ्लाइको ब्लु घोस्ट–१ चन्द्र अभियान प्रक्षेपण गर्दा प्रयोग गरिएको थियो। सोही उडानमा जापानी कम्पनी आइस्पेसको हाकुटो–आर मिसन–२ (रेजिलिएन्स) नामक रोबोटिक चन्द्र अवतरण यान पनि पठाइएको थियो।

अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले एआरएक्सआईभीमा प्रकाशित नयाँ अध्ययनअनुसार, ठोक्किएपछि उड्ने धुलोको बादल केही समयका लागि चन्द्रमाको अँध्यारो किनारमा स्पष्ट देखिन सक्ने गरी चम्किलो हुन सक्छ। पर्याप्त क्षमताको दूरबिन भएका आकाश अवलोकनकर्ताले यसलाई देख्न सक्ने सम्भावना रहेको बताइएको छ।

स्पेस डटकमका अनुसार रकेटको यो भाग चन्द्रमाको पश्चिमी किनार नजिक रहेका आइन्स्टाइन र बेल क्रेटरको आसपास ठोक्किने अनुमान गरिएको छ। यो घटना पृथ्वी र अन्तरिक्षमा रहेका अवलोकन उपकरणबाट पनि देख्न सकिने सम्भावना रहेको वैज्ञानिकहरूले बताएका छन्।

भौतिक विज्ञानमा आधारित विशेष कम्प्युटर सिमुलेसन प्रयोग गरेर गरिएको अध्ययनमा टेक्सास विश्वविद्यालयका अनुसन्धान सहायक विलियम जो र उनका सहकर्मीले ठोक्किएपछि उड्ने धुलोको मुख्य भाग ७५ देखि १०० किलोमिटर उचाइसम्म पुग्न सक्ने अनुमान गरेका छन्।

जोका अनुसार प्रारम्भिक केही मिनेटसम्म धुलोको बादल चन्द्रमाको अँध्यारो आकाशको पृष्ठभूमिभन्दा धेरै चम्किलो देखिन सक्छ। तर उनले यो अनुमान आदर्श अवस्थाको आधारमा गरिएको भन्दै वास्तविक दृश्य केही फरक हुन सक्ने बताएका छन्। उनका अनुसार वैज्ञानिक दृष्टिले सबैभन्दा महत्वपूर्ण कुरा प्रारम्भिक चमक होइन, त्यसपछि फैलिने धुलोको अध्ययन हो।

उनले यो घटनाले चन्द्रमामा हुने यस्ता ठोक्किनबाट उड्ने धुलोको व्यवहार बुझ्न र भविष्यका चन्द्र अभियानका लागि प्रयोग गरिने वैज्ञानिक मोडेल परीक्षण गर्न दुर्लभ अवसर प्रदान गर्ने बताए।

न्यु मेक्सिकोस्थित लस आलामोस राष्ट्रिय प्रयोगशालाका बेन्जामिन फर्नान्डोको नेतृत्वमा गरिएको अर्को अध्ययनले पनि ठोक्किँदा देखिने चमक र धुलोको बादल पृथ्वी तथा अन्तरिक्षबाट अवलोकन गर्न सकिने सम्भावना रहेको जनाएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार यो घटनाले चन्द्रमाको सतहमा हुने ठोक्किने स्थान पहिचान गर्ने प्रविधिको परीक्षण गर्न, धुलो र त्यसको फैलावटको अध्ययन गर्न तथा भविष्यमा चन्द्रमामा जाने अन्तरिक्ष यात्री र पूर्वाधारका लागि कृत्रिम अन्तरिक्ष फोहोरबाट हुन सक्ने जोखिमको मूल्यांकन गर्न सहयोग पुर्‍याउने स्पेस डटकमले उल्लेख गरेको छ।

उनीहरूका अनुसार ठोक्किएपछि उड्ने ठूला कणहरू करिब एक हजार किलोमिटरसम्म पुग्न सक्ने भएकाले भविष्यका चन्द्र अभियानका लागि यो महत्वपूर्ण सुरक्षा विषय पनि हुन सक्छ।

नासाको लुनार रिकनाइसन्स अर्बिटर (एलआरओ) परियोजनाका वैज्ञानिक ब्रेन्ट ग्यारीका अनुसार एलआरओ अन्तरिक्षयान ठोक्किनुभन्दा करिब सात दिनअघि र त्यसको करिब सात दिनपछि सम्भावित स्थानमाथिबाट उड्नेछ। त्यसपछि प्राप्त तस्बिरका आधारमा थप अध्ययन गरिनेछ।

विलियम जोका अनुसार प्रयोग भइसकेको रकेटको भाग भित्रबाट खोक्रो हुने भएकाले यसको ठोक्किने प्रभाव क्षुद्रग्रह वा धूमकेतुजस्ता प्राकृतिक वस्तुभन्दा फरक हुन सक्छ। यस्तो मानव निर्मित वस्तु चन्द्रमामा ठोक्किँदा कस्तो धुलोको बादल बन्छ भन्नेबारे अहिले धेरै अध्ययन उपलब्ध छैन।

उनले धेरैजसो अवलोकनकर्ताले ठोक्किने क्षणको चमक मात्रै हेरेर त्यसपछि फैलिने धुलोको अध्ययन नगर्ने चिन्ता व्यक्त गर्दै वास्तविक वैज्ञानिक महत्व भने त्यही धुलोको विस्तृत अवलोकनमा रहेको बताए।

प्रकाशित: १७ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार