एटीएण्डटीद्वारा क्वान्टम कम्प्युटिङ प्रयोग विस्तार गर्नका लागि डी–वेभसँग सम्झौता

  • Technology Khabar | १३ श्रावण २०८३, बुधबार
एटीएण्डटीद्वारा क्वान्टम कम्प्युटिङ प्रयोग विस्तार गर्नका लागि डी–वेभसँग सम्झौता
फाइल तस्बिर

काठमाडौं ।

अमेरिकी दूरसञ्चार कम्पनी एटीएण्डटीले आफ्नो नेटवर्क सञ्चालनलाई अझ प्रभावकारी बनाउन क्वान्टम कम्प्युटिङ प्रयोग विस्तार गर्ने उद्देश्यले डीवेभसँग सम्झौता गरेको छ।

कम्पनीले सुरुमा डीवेभको एनेलिङ क्वान्टम कम्प्युटिङ प्रविधिलाई आफ्ना एजेन्टिक एआई उपकरणसँग जोडेर नेटवर्क अवरोध पत्ता लगाउने र व्यवस्थापन गर्ने कार्यमा प्रयोग गर्ने योजना बनाएको छ। कम्पनीका अनुसार यसले सञ्चालनमा प्रयोग हुने एआई एजेन्टहरूको क्षमता अझ बढाउन मद्दत गर्न सक्छ।

एटीएण्डटीले यसअघि डीवेभको प्रविधि प्रयोग गरेर नेटवर्क अप्टिमाइजेसनसम्बन्धी एक कार्यको प्रशोधन समय एक घण्टाबाट घटाएर १५ सेकेन्डभन्दा कममा झारेको जनाएको छ।

टेलिकम्स डटकमका अनुसार अब कम्पनीले यो प्रविधिलाई नेटवर्क अवरोध पहिचान र समाधान, प्राविधिक कर्मचारीको रुट निर्धारण तथा ट्राफिक व्यवस्थापनलगायतका थप क्षेत्रमा परीक्षण गर्ने योजना बनाएको छ।

यसबाट छिटो प्रशोधन क्षमताले फाइबर र ५जी नेटवर्कको योजना निर्माणलाई अझ छिटो र सटीक बनाउन सक्ने सम्भावना कम्पनीले अध्ययन गर्नेछ।

एटीएण्डटीले डीवेभको विकासाधीन गेटमोडेल क्वान्टम प्रणालीलाई क्वान्टम सुरक्षा र क्वान्टम सञ्चारमा प्रयोग गर्न सकिने सम्भावनाको पनि अध्ययन गरिरहेको छ।

कम्पनीका अनुसार यो सम्झौता क्वान्टम कम्प्युटिङ, एआई, स्वचालन, उन्नत विश्लेषण र सफ्टवेयरआधारित पूर्वाधार प्रयोग गरेर नेटवर्क निर्माण, सञ्चालन र अप्टिमाइजेसनलाई आधुनिक बनाउने दीर्घकालीन रणनीतिको हिस्सा हो।

डीवेभका प्रमुख कार्यकारी अधिकृत एलन बाराट्जले एटीएन्डटीले नेटवर्क सञ्चालनमा रहेका जटिल समस्या समाधानका लागि क्वान्टम कम्प्युटिङको सम्भावना खोजिरहेको र यसले व्यवसायिक रूपमा क्वान्टम प्रविधिको प्रयोग बढ्दै गएको उदाहरण प्रस्तुत गरेको बताए।

एटीएण्डटीको प्रमुख डाटा कार्यालयअन्तर्गत डाटा साइन्स निर्देशक लुकस हाउगेनले डीवेभको एनेलिङ क्वान्टम कम्प्युटिङ प्रविधिले नेटवर्क सञ्चालनका जटिल गणनात्मक चुनौती समाधान गर्ने नयाँ विकल्प दिएको बताए। उनका अनुसार यसले छिटो अप्टिमाइजेसन, उच्च कार्यक्षमता र वास्तविक समयमै सञ्चालन विस्तार गर्न सहयोग पुर्‍याउन सक्छ।

हाल एआईजस्तो ठूलो लगानी र चर्चा क्वान्टम कम्प्युटिङले नपाए पनि यी दुई प्रविधिलाई संयोजन गरेर भविष्यका समाधान विकास गर्ने प्रयास बढिरहेका छन्।

यस वर्षको सुरुमा टेलिफोनिका टेकले किलिमान्जारो क्वान्टम टेक, मल्टिभर्स कम्प्युटिङ र क्युसेन्ट्रोइडसँग मिलेर एआई र क्वान्टम प्रविधिलाई नजिकबाट एकीकृत गर्ने परियोजना सुरु गरेको थियो। यसको उद्देश्य साना र प्रभावकारी एआई मोडेल विकास गर्नु हो।

यस्तै, गत महिना एसके टेलिकमले युरोपेली संघबाट क्वान्टम क्रिप्टोग्राफी परियोजनाका लागि अनुदान प्राप्त गरेको थियो। उक्त परियोजनाले क्वान्टम फोटोनिक इन्टिग्रेटेड सर्किट र एआईमा आधारित नयाँ पुस्ताको क्वान्टम की डिस्ट्रीब्युसन प्रणाली विकास गर्ने लक्ष्य राखेको छ, जसले सञ्चार सुरक्षासँगै ऊर्जा दक्षता पनि बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित: १३ श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार